कांग्रेसको भागमा मन्त्री हेरफेर हुँदै ,यी हुन् सम्भावित नयाँ अनुहार
धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट मन्त्री तथा राज्यमन्त्री परिवर्तन हुने लगभग निश्चित भएको छ। पार्टीभित्र देखिएको विवाद समाधानका लागि शनिबार साँझ भएको सहमतिअनुसार आज नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको छ।
सहमतिपछि असन्तुष्ट समूहका नेता तथा प्रदेशसभा सदस्य दिवानसिंह विष्ट स्वयं मन्त्री नबन्ने भएका छन्। उनले आफ्नो समूहबाट अन्य सांसदलाई सरकारमा पठाउने तयारी भएको बताएका छन्।
स्रोतका अनुसार असन्तुष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी पाउनेछ भने मुख्यमन्त्री कमलबहादुर शाह पक्षले एक मन्त्री र एक राज्यमन्त्री चयन गर्नेछ।
असन्तुष्ट समूहबाट मन्त्री बन्ने दौडमा प्रदेशसभा सदस्य बेलबहादुर राना, पदमबहादुर शाही र मानबहादुर रावल रहेका छन्। तीमध्ये दुई जना मन्त्री बन्ने लगभग निश्चित भएको बताइन्छ।
यस्तै मुख्यमन्त्री शाहको कोटाबाट प्रदेशसभा सदस्य विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री बन्ने पक्कापक्की जस्तै रहेको कांग्रेस स्रोतले जनाएको छ।
राज्यमन्त्रीतर्फ मुख्यमन्त्री पक्षबाट डम्मरी महरा रक्षाले अवसर पाउने सम्भावना रहेको छ। असन्तुष्ट समूहबाट भने गीता चौधरी र ललिता सुनारमध्ये एक जना राज्यमन्त्री बन्ने चर्चा छ।
कांग्रेस संसदीय दलभित्र देखिएको विवाद मिलाउन पार्टीका केन्द्रीय सहमहामन्त्री उदयशम्शेर राणा र केन्द्रीय सदस्य राजन केसी चार दिनदेखि धनगढीमा सक्रिय थिए। उनीहरूको पहलमा दलका नेता तथा मुख्यमन्त्री शाहलाई हटाउने प्रयास रोकिएको र मन्त्रीहरू मात्रै परिवर्तन गर्ने सहमति जुटेको हो।
यसअघि कांग्रेसका नौ प्रदेशसभा सदस्यले शाहलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर बुझाएका थिए। पछि प्रदेशसभा सदस्य डम्मरी महराले आफ्नो हस्ताक्षर फिर्ता लिएपछि शक्ति सन्तुलन शाहको पक्षमा पुगेको थियो। त्यसैको परिणामस्वरूप उनलाई पनि सरकारमा अवसर दिन लागिएको चर्चा कांग्रेस वृत्तमा छ।
मन्त्री हेरफेरसँगै केही सातादेखि चर्किएको कांग्रेसभित्रको विवाद तत्कालका लागि साम्य हुने अपेक्षा गरिएको छ।




