सङ्घीयता सफल बनाउन कानुनमा समन्वय आवश्यक : सभामुख अर्याल
टीकापुर/ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले तीन तहका सरकारबीच समन्वय र सहकार्य कायम गरेर मात्र प्रभावकारी कानुन निर्माण सम्भव हुने बताए ।
अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा सभामुख अर्यालले सङ्घीय संसद्, प्रदेशसभा र स्थानीय तहबीचको सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गरे । उनले सङ्घ, प्रदेश र स्थानीय तहले बनाउने कानुन एकअर्कासँग नबाझिने गरी अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए ।
उनले सबै तहका सरकारसँग समन्वय गरेर कानुन निर्माण प्रक्रिया अगाडि बढाइने उल्लेख गर्दै आपसी सहकार्यले मात्रै जनताका अपेक्षा सम्बोधन गर्न सकिने धारणा राखे।
सभामुख अर्यालले कानुन निर्माणका क्रममा लक्षित वर्गलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याए । कानुन कार्यान्वयन गर्ने पक्षले कानुन बनेपछि मात्र जानकारी पाउने अवस्था रहेकाले कार्यान्वयनमा समस्या देखिएको उनले बताए । सरोकारवाला समूहसँग पर्याप्त छलफल र सहकार्य गरेर कानुन निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
उनले सङ्घीयताको मूल मर्मअनुसार सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्नुपर्ने भए पनि अझै त्यो लक्ष्य पूरा हुन नसकेको उल्लेख गरे । जनताले पाउनुपर्ने अधिकार स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्याउन अझै काम गर्न बाँकी रहेको उनको भनाइ थियो।
सम्मेलनमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद अर्यालले प्रदेश र स्थानीय तहले उठाउँदै आएको समन्वय अभावको गुनासोलाई सङ्घीय संसदले सम्बोधन गर्नुपर्ने बताए ।
सङ्घीय सरकारले आवश्यक कानुन समयमै नबनाउँदा प्रदेश र स्थानीय तहलाई समस्या परेको स्वीकार गर्दै उनले संवैधानिक अधिकारअनुसार काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने धारणा राखे । सङ्घीय कानुन निर्माणमा भएको ढिलाइले प्रदेश सरकारको कामसमेत प्रभावित बनेको उनले बताए ।
अध्यक्ष अर्यालले लोकतन्त्रलाई थप बलियो बनाउन जनभावनाअनुसार काम गर्न तीनै तहका सरकारको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गरे । साथै कानुन निर्माणमा सङ्घीय संसद्ले अझ बढी सक्रियता देखाउनुपर्ने आवश्यकता औँल्याउँदै जनताले जनप्रतिनिधिलाई परिणाममुखी कामका लागि चुनेको बताए ।
दुईदिने सम्मेलनमा सङ्घीय संसदका दुवै सदनका पदाधिकारी तथा सातै प्रदेशसभाका सभामुखहरूको सहभागिता रहेको छ। सम्मेलन आइतबार सम्पन्न हुने आयोजकले जनाएको छ।





