१० जेष्ठ २०८३, आइतबार

देउवा पक्षिय कांग्रेसको भेला ‘जनविश्वास गुम्नु गम्भीर चिन्ताको विषय’



धनगढी/ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिले पार्टी नेतृत्वले जनतामाझ अपेक्षित विश्वास पुनः स्थापित गर्न नसकेको भन्दै त्यसबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएको छ ।

आइतबार धनगढीमा आयोजित भेलामा सहभागी नेता तथा कार्यकर्ताले विशेष महाधिवेशनबाट आएको नेतृत्वप्रति जनस्तरमा अपेक्षित भरोसा निर्माण हुन नसकेको बताएका हुन् । भेलामा बोल्ने अधिकांश नेताले हतारमा गरिएको विशेष महाधिवेशनका कारण पार्टीभित्र असन्तुष्टि बढेको र त्यसको असर निर्वाचन परिणाममा समेत देखिएको उल्लेख गरे ।

भेलापछि सार्वजनिक निष्कर्षमा १४ औँ महाधिवेशनबाट बनेको केन्द्रीय समितिलाई विस्थापित गरेर विशेष महाधिवेशन गरिनु पार्टीका लागि महँगो सावित भएको भनिएको छ । प्रतिनिधिसभा निर्वाचनको परिणामले वर्तमान नेतृत्वको कमजोरी उजागर गरेको ठहर पनि भेलाले गरेको छ ।

नेताहरूले आगामी १५ औँ महाधिवेशनलाई पार्टी पुनर्गठन, एकता र वैचारिक स्पष्टताको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि साविक र वर्तमान नेतृत्वबीच विश्वास र सहकार्यको वातावरण बनाउन आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

भेलामा अनुशासन सम्बन्धी कारबाही प्रक्रिया विधिसम्मत, पारदर्शी र निष्पक्ष हुनुपर्ने आवाज उठाइएको थियो । साथै, निष्पक्ष र विश्वसनीय महाधिवेशनका लागि तटस्थ निर्वाचन समिति गठन गर्नुपर्ने माग पनि गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभापति वीरबहादुर बलायर ले कांग्रेसको एकताको मुख्य आधार महाधिवेशन भएको बताए । उनले देउवा पक्षका नेताहरूलाई पनि पार्टीभित्र उचित भूमिका दिनुपर्ने उल्लेख गर्दै नेताहरूको मानमर्दन हुने गतिविधि स्वीकार्य नहुने बताए ।

भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा माथि विगतमा लगाइएका आरोप र त्यसले संगठनमा पारेको प्रभावबारे समेत समीक्षा गर्नुपर्ने धारणा राखिएको थियो । सहभागीहरूले लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका खेलेको कांग्रेस कमजोर बन्नु देशकै लागि चिन्ताको विषय भएको बताएका थिए ।

त्यस्तै, वर्तमान सरकारको कार्यशैलीप्रति पनि भेलाले असन्तुष्टि जनाएको छ । मन्त्रीपरिषद्को सार्वजनिक सम्पत्ति विवरण अपारदर्शी रहेको, सरकारले संसद्प्रति पर्याप्त उत्तरदायित्व नदेखाएको तथा अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप कांग्रेस नेताहरूले लगाएका छन् । न्यायपालिका लगायत स्वतन्त्र निकायमा कार्यपालिकाको हस्तक्षेप देखिएको दाबी समेत भेलाले गरेको छ ।

भेलाले संविधान, कानुन र मौलिक हकको सम्मान गर्दै लोकतान्त्रिक मूल्यअनुसार शासन सञ्चालन गर्न सरकारलाई आग्रह गरेको छ । भ्रष्टाचार, शक्ति दुरुपयोग र अनुसन्धान प्रक्रियामा समानताको सिद्धान्त कायम गर्नुपर्ने माग पनि भेलाले अघि सारेको छ ।

भेलामा रमेश लेखक, एनपी साउँद, कमलबहादुर शाह लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । प्रदेश सभापति बलाएर, लेखक, साउद सहितका नेताहरु यसअघि सभापति गगन थापा उपस्थित कार्यक्रममा सहभागी भएका थिएनन् । थापा उपस्थित कार्यक्रममा मुख्यमन्त्री शाहले पनि देउवाको पक्षमै बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार