६ जेष्ठ २०८३, बुधबार

रानीसैनमा तनाव : हिमाली गाउँपालिकाको टोलीमाथि आक्रमण, घाइतेको हेलिकोप्टरबाट उद्धार




बाजुरा/ बाजुराको हिमाली गाउँपालिकाबाट साइपाल हिमालको आधार शिविर रानीसैनतर्फ गइरहेको टोलीमाथि हुम्लाका स्थानीयले आक्रमण गरेका छन्। सीमाविवाद चर्किँदा भएको घटनामा घाइते भएका ६ जनामध्ये चारजनालाई हेलिकोप्टरमार्फत उपचारका लागि सुर्खेत लगिएको छ।

हिमाली गाउँपालिका–३ लाम्पाटा पुगेको टोलीमाथि हुम्लाको खार्पुनाथ गाउँपालिका–२ र ३ का थालीगाउँ तथा सर्केगाड गाउँपालिका–३ रिप गाउँका स्थानीयले कुटपिट गरेका हुन्। लाम्पाटा र रानीसैन क्षेत्रको सीमा विवादलाई लिएर दुई जिल्लाबीच लामो समयदेखि तनाव रहँदै आएको छ।

घटनामा हिमाली–३ का वडासदस्य पेमा गाराप गुरुङ, उनकी श्रीमती लक्षी गुरुङ, गुम्बा गाउँका नरबहादुर गुरुङ र मिनु कुँवर गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार उनीहरूलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत उपचारका लागि नेपालगन्ज लगिएको हो।

आक्रमणमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा र प्रहरी सहायक हवल्दार महेश धामी पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। फुलिङ क्षेत्रबाट हेलिकोप्टरमार्फत घाइतेहरूको उद्धार गरिएको थियो।

प्रहरीका अनुसार करिब डेढ सय जनाको समूह लाम्पाटा पुगेर रानीसैनतर्फ जाँदै गरेको टोलीमाथि आक्रमणमा उत्रिएको थियो। घटनास्थलबाट सार्वजनिक भएको भिडियोमा प्रमुख प्रशासकीय अधिकृत थापामाथि कुटपिट भइरहेको देखिएको बताइएको छ।

मंगलबार बिहान साढे १० बजेतिर भएको घटनाबारे जानकारी आउन ढिलाइ भएको थियो। अत्यन्त विकट भूगोलका कारण घटनास्थलमा फोन सम्पर्क नहुने र बौडी क्षेत्रसम्म पुगेपछि मात्रै सञ्चार सेवा उपलब्ध हुने स्थानीयले बताएका छन्।

हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयसहित ३६ जनाको टोली रानीसैन क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि त्यहाँ पुगेको थियो। अध्यक्ष मल्लले योजनाबद्ध रूपमा ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको आरोप लगाएका छन्। उनका अनुसार केही व्यक्तिको मोबाइलसमेत खोसिएको छ।

यसैबीच, ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल नेतृत्वको टोली पनि रानीसैन क्षेत्रतर्फ जाँदै थियो। तर स्थानीयले अवरोध गरेपछि उक्त टोली लाम्पाटाबाटै फर्किएको जनाइएको छ। स्थानीयले चुचीखोलाको काठेपुलसमेत आंशिक रूपमा भत्काएको बताइएको छ।

विवादको मुख्य कारण लाम्पाटामा प्रहरी चौकी स्थापना गर्ने विषय बनेको छ। सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माणका लागि चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको हिमाली गाउँपालिकाले जनाएको छ। निर्माणका लागि उपभोक्ता समिति गठन गरिएपछि खार्पुनाथ गाउँपालिकाका स्थानीयले उक्त क्षेत्र हुम्लाको भूमि भएको दाबी गर्दै विरोध जनाएका थिए।

स्थानीयका अनुसार निर्माण सामग्रीसमेत नष्ट गरिएको छ भने जग्गा उपलब्ध गराउने वडासदस्य पेमा गुरुङको परिवारमाथि धम्की र आक्रमण भएको आरोप लगाइएको छ। लक्षी गुरुङले आफ्नो घर तीन दिनदेखि कब्जामा राखिएको बताएकी छन्।

रानीसैन र लाम्पाटा क्षेत्रको सीमा विवाद बाजुरा र हुम्लाबीच वर्षौंदेखि समाधान हुन नसकेको विषय हो। पछिल्लो घटनाले पुनः त्यस क्षेत्रको सुरक्षा र प्रशासनिक समन्वयप्रति गम्भीर प्रश्न उठाएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार