कांग्रेस एकताका लागि नेतृत्व जिम्मेवार : बलायर
धनगढी / नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने मुख्य जिम्मेवारी नेतृत्व तहको भएको बताएका छन् ।
१० जेठमा धनगढीमा आयोजना गरिने प्रदेशस्तरीय भेला सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेसको एकता जोगाउने जिम्मा पार्टी सभापति गगनकुमार थापा माथि रहेको उल्लेख गरे ।
बलायरले आफूहरू पार्टी विभाजनका लागि नभई संगठनलाई पुनः सशक्त बनाउन जागरण अभियानमा जुटेको स्पष्ट पारे । नेतृत्वकै तहबाट पार्टी फुटाउने प्रयास भए त्यसलाई रोक्न कठिन हुने चेतावनी पनि उनले दिए ।
“विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले सिंगो कांग्रेसलाई समेटेर अघि बढ्न चाहनुभयो भने पार्टी फुटको स्थिति आउँदैन,” उनले भने ।
उनले कांग्रेस विभाजनको चर्चा गर्नेहरू निर्वाचनमा पार्टीलाई साथ नदिएका व्यक्तिहरू भएको टिप्पणीसमेत गरे । साथै १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूलाई अपमानजनक व्यवहार गर्न नहुने धारणा राखे ।
“हामी कसैलाई स्थापित गर्न खोजेका होइनौँ, तर नेतृत्व गरिसकेका नेताहरूको सम्मान कायम रहनुपर्छ,” बलायरले भने, “१५औँ महाधिवेशनलाई लक्षित गरेर पार्टीभित्रको एकता अझ आवश्यक बनेको छ ।”
काठमाडौंमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले सञ्चालन गरेको सम्पर्क कार्यालयलाई पार्टी फुटसँग जोडेर हेर्न नहुने उनको भनाइ थियो ।
बलायरका अनुसार जेठ १० गते हुने भेलामा कांग्रेसलाई आगामी दिनमा कसरी सुदृढ बनाउने, संगठन विस्तार गर्ने र नेतृत्वलाई दिनुपर्ने सुझावबारे छलफल हुनेछ । उनले उक्त कार्यक्रमलाई गुटगत भेलाको रूपमा व्याख्या नगर्न आग्रह गरे ।
उनले विदेश भ्रमणमा रहेका देउवाको चासो पनि कांग्रेसलाई एकताबद्ध राख्ने विषयमै केन्द्रित रहेको बताए ।




