सुदूरपश्चिम प्रदेश सभा सदस्यको माग, २४ गतेका दोषीलाई कठघरामा ल्याउ

धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको सातौं एवम् हिउँदे अधिवेशनमा बोेल्दै विभिन्न दलबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुले जेनजी आन्दोलनको क्रममा भदौ २३ र २४ गते भएको आपराधिक घटनाका दोषीलाई कानुनी कठघरामा उभ्याउनु पर्ने बताएका छन् ।
२४ गते मुलुकको सम्पत्ति जलाउनेहरु पनि उत्तिकै दोषी रहेको उनीहरुको जिकिर थियो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले सरकार परिवर्तन भइरहने कारणले जेनजी आन्दोलन निम्त्याएको बताए । उनले आगामी बजेट परिणाममुखी बनाउन अहिलेदेखि नेपाली कांग्रेस जुटेको उल्लेख गरे ।
त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका दलको नेता खगराज भट्टले सातौं अधिवेशन सञ्चालनमा ढिलाइ भएको बताए । उनले प्रदेश सरकार रहेको आभास नभएको जिकिर गरे । भदौ २३ गते कलिला विद्यार्थीको ज्यान लिनेलाई कारबाहीको दायरामा ल्याउँदा २४ गते विध्वंश मच्चाउनेहरुलाई पनि कानुनको कठघरामा उभ्याउनू पर्ने उनको भनाई छ ।
नेकपा (एमाले) को संसदीय दलका नेता राजेन्द्रसिंह रावलले पूर्व प्रधानमन्त्री केपी ओली र पूर्वमन्त्री रमेश लेखकलाई रिहाइ गर्नु पर्ने बताए । उनले समृद्ध नेपाल र सुखी नेपालीको नारासहित गणतन्त्र रक्षाका लागि काम गर्न आवश्यक रहेको बताए । रावलले यो व्यवस्थाको रक्षा कसरी गर्ने भन्ने चुनौती आएको उल्लेख गरे ।
यस्तै, बैठकमा आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेश सभामा टेबुल गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले विधेयक टेबुल गरे ।
प्रदेश प्रमुख नजिर मियाँको आह्वानमा मङ्गलबारदेखि प्रदेश सभाको सातौं अधिवेशन सुरु भएको हो । अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्यका लागि विशेष समय प्रदान गरिएको थियो ।




