पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

काठमाडौँ/ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। दुवैलाई शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरी काठमाडौँ जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भदौ २३ र २४ गते भएका ‘जनरेशन–जेड’ आन्दोलनका क्रममा भएको हिंसा तथा मानवीय क्षतिसँग सम्बन्धित मुद्दामा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। सो घटनाको छानबिन गर्न गठित आयोगको सिफारिसपछि उनीहरूमाथि मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको हो।
पूर्वप्रधानमन्त्री ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको हो भने पूर्वगृहमन्त्री लेखकलाई सोही जिल्लाको सूर्यविनायक क्षेत्रबाट पक्राउ गरिएको जनाइएको छ। पक्राउ अघि गृह मन्त्रालयमा परेको उजुरीका आधारमा अनुसन्धान सुरु भई अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सरकारले यस कदमलाई कानूनी प्रक्रिया अनुसार अगाडि बढाइएको बताएको छ। गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत “कानूनभन्दा माथि कोही छैन, यो बदला होइन न्यायको सुरुआत हो” भन्दै प्रतिक्रिया दिएका छन्।
यसैबीच, पक्राउको विरोधमा केही स्थानमा समर्थकहरू भेला भई नाराबाजीसमेत गरेका छन्। घटनापछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ।
प्रहरीले दुवै नेतामाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।




