२७ फाल्गुन २०८२, बुधबार

पार्टीभित्र निर्मम समीक्षा आवश्यक : भट्ट



धनगढी/ नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले निर्वाचनमा प्राप्त जनमतलाई सम्मान गर्दै पार्टीभित्र गम्भीर र निर्मम समीक्षा गर्नुपर्ने बताएका छन्।

कैलालीको अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत रहेका नेता भट्टले संगठनलाई अब नयाँ ढङ्गले अगाडि बढाउन आवश्यक रहेको बताए। अहिलेको अवस्थामा कार्यकर्ताहरू पैसा विना चल्नै नसक्ने स्थितिमा पुग्नुले पार्टीको वैचारिक आधार कमजोर बनेको देखिएको उनको भनाइ थियो।

पार्टी संगठन ‘चेन अफ कमाण्ड’मा नरहेको उल्लेख गर्दै उनले छ लाख ५० हजारभन्दा बढी संगठित सदस्य भएको दाबी गर्ने पार्टीले आफ्नै सदस्यहरूको मतसमेत जोगाउन नसक्नु गम्भीर विषय भएको बताए।

नेतृत्वलाई घेरेर बस्ने, गलत सूचना दिने र नेतृत्वसँग निकट देखिन फोटो खिचाउने समूहका कारण वास्तविक अवस्थाभन्दा फरक सूचना नेतृत्वसम्म पुग्दा पार्टीले क्षति व्यहोर्नुपरेको उनले बताए।

चुनावका क्रममा आफ्नै पार्टीका केही नेता तथा कार्यकर्ताले जग्गा बेचेर चुनाव लड्न सुझाव दिएको प्रसङ्ग स्मरण गर्दै भट्टले राजनीतिमा बढ्दो आर्थिक मोह र संस्कारहीन प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे।

संगठनले जनतासँग प्रभावकारी समन्वय गर्न नसक्दा मतदाताले नेताहरू भेट्न नआएको गुनासो गरेको यथार्थ रहेको पनि उनले बताए। यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिएको मतलाई उनले विचार र सिद्धान्तभन्दा बढी ‘लहर’का रूपमा व्याख्या गरे।

आफूले यस क्षेत्र र देशको विकासका लागि इमान्दार प्रयास गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए। निर्वाचनमा पराजय भए पनि आफू र पार्टी विचलित नभई जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार