२३ फाल्गुन २०८२, शनिबार

कैलालीका चार क्षेत्रमा रास्वपाको पकड, मतगणनामा निरन्तर अग्रता




धनगढी/ प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलाली जिल्लामा जारी मतगणनाको पछिल्लो विवरणले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बलियो अवस्थामा देखाएको छ।

हालसम्म सार्वजनिक परिणामअनुसार जिल्लाका चार निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले अग्रता कायम गरेका छन्। यद्यपि, कैलाली क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम भने सार्वजनिक भएको छैन।

कैलाली क्षेत्र नम्बर ५ मा हालसम्म ४१ हजार ४३५ मत गणना भइसकेको छ। यहाँ रास्वपाका उम्मेदवार आनन्दबहादुर चन्दले २० हजार १४३ मत प्राप्त गर्दै प्रतिस्पर्धामा उल्लेख्य अग्रता बनाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नरनारायण शाहले ७ हजार १४७ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले ५ हजार ६३८ मत पाउँदा नेकपा (एमाले) का उम्मेदवार यज्ञराज ढुङ्गानाले ३ हजार ८०५ मत प्राप्त गरेका छन् ।

कैलाली क्षेत्र नम्बर ४ मा ९ हजार ७७५ मत गणना हुँदा पनि रास्वपाकै उम्मेदवार अगाडि देखिएका छन्। यहाँ खेमराज कोइरालाले ४ हजार ४३० मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसका गोरखबहादुर बिष्टले १ हजार ९९५ मत प्राप्त गर्नुभएको छ भने एमालेका लेखराज भट्टले १ हजार ६७६ मत प्राप्त गरे ।

कैलाली क्षेत्र नम्बर १ मा भने मतगणना उल्लेख्य रूपमा अगाडि बढेको छ। यहाँ ४७ हजार ६५५ मत गणना भइसकेको छ। रास्वपाका उम्मेदवार कोमल ज्ञवाली १५ हजार २१ मतसहित अग्रस्थानमा छन् ।

उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले ९ हजार ७१७ मत प्राप्त गरे। नेपाल कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारुले ७ हजार १७७ मत पाउँदा नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपानेले ३ हजार ९८६ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार फागुराम थारुले २ हजार ९९८ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरले २ हजार १५१ मत पाए । उज्यालो नेपाल पार्टीका प्रदीपकुमार चौधरीले १ हजार ३९० मत प्राप्त गरे।

त्यस्तै, कैलाली क्षेत्र नम्बर २ मा १० हजार ७५५ मत गणना भएको छ। यहाँ पनि रास्वपाका उम्मेदवार केपी खनाल ३ हजार ३०७ मतसहित अग्रस्थानमा छन्। उनलाई एमालेका सूर्यबहादुर थापाले २ हजार ११२ मतसहित पछ्याएका छन्। नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले १ हजार ६६० मत प्राप्त गरे भने नेपाल कम्युनिस्ट पार्टीका नन्दबहादुर शाहले १ हजार ६०० मत पाए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार