धनगढी–१३ कैलालीगाउँमा झडप, १२ जना नियन्त्रणमा, प्रहरीसहित केही घाइते

धनगढी / कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली गाउँमा होली पर्व मनाउने क्रममा मंगलबार साँझ दुई समूहबीच झडप भएको छ। झडपमा प्रहरीसहित चार जना घाइते भएका छन् भने १२ जनालाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र बहादुर चन्दका अनुसार दुर्गा मन्दिर चोक नजिक होली कार्यक्रम भइरहेका बेला करिब २५० जनाको भीडबाट दुई समूहबीच विवाद भई झडप भएको हो। अवस्था नियन्त्रणमा लिन प्रहरीले 5 राउन्ड हवाई फायरसमेत गरेको जनाएको छ।
झडपका क्रममा प्रहरी सहायक निरीक्षक डबल बहादुर साउद र प्रहरी निरीक्षक बलराम पाण्डे घाइते भएका छन्। साउदको टाउको, काँध र हातमा चोट लागेको छ भने पाण्डेको हात र तिघ्रामा चोट लागेको प्रहरीले जनाएको छ। दुवैको अवस्था सामान्य रहेको छ।
घटनामा स्थानीय ३३ वर्षीय कमल राना र २८ वर्षीय लोकेश खत्री पनि घाइते भएका छन्। रानाको नवजीवन अस्पताल र खत्रीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। कमल रानाले आफूलाई गोली लागेको दाबी गरेका छन् भने प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
झडपका क्रममा प्रहरी प्रमुख चन्द सवार गाडीमा ढुंगामुडा हुँदा अगाडिको सिसामा क्षति पुगेको छ। यद्यपि, प्रहरी प्रमुख चन्दलाई भने कुनै चोटपटक लागेको छैन।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो। प्रहरीका अनुसार घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
घटनापछि क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने हाल अवस्था नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




