१८ फाल्गुन २०८२, सोमबार

यस्ता छन सुदूरपश्चिमको चुनावका रोचक पक्ष




धनगढी/
सुदूरपश्चिममा यसपटक धेरै रोचक पक्ष देखिएका छन् । दुई जना उम्मेदवार लगातार चौथो पटक चुनाव जित्ने दाउमा रहनेदेखि, चुनावकै दिन दल परिवर्तन र तीन वर्षमा तीन चिन्हबाट चुनाव लड्नेजस्ता रोचक पक्ष सुदूरपश्चिममा देखिएका छन् ।

चारपटकसम्म मन्त्री हुनु भएका बैतडीका दामोदर भण्डारी सोही जिल्लाबाट लगातार चौथो पटक चुनाव जित्ने दाउमा छन् । एमालेका उम्मेदवार भण्डारीको नेपाली कांग्रेसका चतुर चन्दले कडा टक्कर हुने अनुमान छ । सो क्षेत्रमा नेकपाका प्रमानन्द भट्ट र रास्वपाका हरिमोहन भण्डारीले पनि राम्रो भोट ल्याउने चर्चा छ ।

लगातार चौथो पटक जित्नका लागि प्रेमबहादुर आलेमगर कैलाली क्षेत्र नम्बर ५ बाट नेकपाको उम्मेदवार बनेका छन । उनी २०७०, २०७४, २०७९ मा लगातार डोटीबाट विजयी भएका थिए । यो क्षेत्रमा नेकपा, कांग्रेस, एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

अछाम क्षेत्र नम्बर १ र २ चुनाव झन रोचक छ । सो क्षेत्रमा पाँचपटक एमालेको सूर्च चिन्हबाट चुनाव लड्नु भएका डा. भीमबहादुर रावल नेकपाको तारा चिन्हबाट चुनाव उठेका छन् । क्षेत्र नम्बर १ र २ बाट चुनावकै बेला उम्मेदवारले दल परिवर्तन गरेका कारण पनि रोचक बनेको छ । क्षेत्र नम्बर १ मा प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता दीपक साउद मनोनयनको केही दिन अघि एमाले प्रवेश गरेर चुनाव लडेका छन् । साउद माओबादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा सक्रिय थिए । सो क्षेत्रमा नेकपाबाट डा. रावल र कांग्रेसबाट भरतबहादुर स्वाँर उम्मेदवार छन् ।

क्षेत्र नम्बर २ मा पनि ६४ वर्षीय बलबहादुर कुँवर कांग्रेस छोडेर नेकपाको उम्मेदवार बनेका छन् । ४६ वर्षदेखि कांग्रेसमा क्रियाशिल कुँवर २०४९ मा चिट्टामा जिविस सदस्य हारेका थिए । उनी क्षेत्रीय सभापति, निरन्तर महाधिवेशन प्रतिनिधि र १२ औ महाधिवेशनमा महासमिति प्रतिनिधि शेखर कोइराला समुहबाट खुला केन्द्रीय सदस्य लडेका थिए । उनी २०७० मा संविधान सभा र २०७४ मा प्रदेश सभामा कांग्रेसका उम्मेदवार बनेका थिए ।

यस्तै कैलाली क्षेत्र नम्बर १ बाट नेकपाका रामलाल डगौरा लगातार तीन चुनावमा तीन चिन्ह परिर्वतन गर्नु भएर चर्चामा छन् । उनी २०७४ मा तत्कालिन नेकपा (माओबादी) को हसियाँ हतौडाबाट वडाअध्यक्ष, २०७९ मा नागरिक उन्मुक्ती पार्टीको ढकियाबाट टीकापुरको मेयर र अहिले तारा चिन्हबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार