म कसैको पक्षमा लागेको छैन : मेयर हमाल

धनगढी/ धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आफू कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा नलागेको स्पष्ट पारेका छन् ।
हालै केही सञ्चारमाध्यममा आफूले प्रतिनिधिसभा निर्वाचनमा एक पक्षलाई समर्थन गरेको भन्ने समाचार प्रकाशित भएपछि उनले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ती समाचार पूर्णतः निराधार रहेको बताए ।
मेयर हमालले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जारी गरेको वक्तव्यमा उल्लेख गरेका छन् , “२०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसँग मलाई जोडेर ‘पत्रिका नेपाल’ लगायतका केही मिडियामा प्रकाशित समाचारमा कुनै सत्यता छैन। म कुनै दल वा उम्मेदवारको समर्थनमा लागेको छैन। सम्पूर्ण नगरवासीमा यथार्थ जानकारी गराउन चाहन्छु।”
यसअघि पनि उहाँले विभिन्न सार्वजनिक कार्यक्रममा आफू स्वतन्त्र रूपमा निर्वाचित जनप्रतिनिधि भएको र कुनै राजनीतिक दलसँग आबद्ध नरहेको स्पष्ट पार्दै आएका थिए । धनगढीका मतदाताले पाँच वर्षका लागि दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नु नै आफ्नो पहिलो कर्तव्य भएको उनको भनाइ छ।
मेयर हमालले निर्वाचनको समय नजिकिँदै गर्दा भ्रामक र अपुष्ट समाचारहरू फैलिन सक्ने भन्दै त्यस्ता सूचनाप्रति सचेत रहन नगरवासीलाई आग्रह गरे । “जनताले दिएको म्यान्डेटअनुसार नगरको विकास र सुशासनमा केन्द्रित हुनु नै मेरो प्राथमिकता हो,” उनले उल्लेख गरेका छन्।
स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका हमालले सुरुदेखि नै दलगत प्रभावभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । आगामी निर्वाचन तथा त्यसपछिका दिनहरूमा पनि आफू निष्पक्ष र स्वतन्त्र रहदै धनगढीवासीको हितमा काम गर्ने उनले पुनः दोहोर्याए ।




