महरले जोगाउलान त कांग्रेस र देउवाको विरासत ?

धनगढी/ यसपटक सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा को जित्ने भन्ने आकलन गर्न कठिन छ । यसक्रममा डडेल्धुरा सुदूरपश्चिममा सबैभन्दा चाँसोको क्षेत्र बनेको छ ।
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदल र गणतन्त्र आएपछिका सबै सातवटै निर्वाचन जितेको डडेल्धुरामा र यसपटक देउवा विना नै कांग्रेसले नयाँ अनुहार नैनसिंह महरलाई चुनावमा उठाएको छ ।
राजनीतिमा लागेको ३० वर्ष भए पनि संसदीय चुनाव लडेका हिसावले ५१ वर्षीय महर नयाँ मानिन्छन् । यद्यपी उहाँ नेविसंघको विभिन्न कमिटी हुँदै केन्द्रीय अध्यक्ष र कांग्रेसको केन्द्रीय सदस्य भइसकेका छन् । पत्रकारितासमेत गरेर नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष समेत भइसकेका महर विभिन्न सामाजिक क्षेत्रमा सक्रिय छन् ।
नेता महर महाकाली, सेती, कर्णालीलाई उपयोग गरेर विद्युत उत्पादन गरेर नेपालकै आर्थिक विकासमो ठुलो योगदान दिने गरेर आफू लाग्ने प्रतिबद्धता गरेर चुनावी अभियानमा लागेका छन् । उनले डडेल्धुरामा कांग्रेसको पालामा भएका विकासका काम पनि मतदातालाई सुनाएर आफ्नो पक्षमा माहोल बनाउन खोजिरहेको पाइन्छ ।
यद्यपी महरलाई नेकपा (एमाले), नेकपा र रास्वपा उम्मेदवार भारी पर्ने अनुमान गरिएको छ । त्यसैमा विपक्षी दलहरुले कांग्रेसको आन्तरिक एकता कमजोर भएको पूर्व सभापति देउवाले महरलाई नरुचाएको चर्चा गरेर चुनावको जीत आफ्नो पक्षमा पार्न खोजिरहेका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एमालेबाट चक्र स्नेही, नेकपाबाट मानसिंह माल, रास्वपाबाट डा. ताराप्रसाद जोशी चुनावी मैदानमा छन् ।
विपक्षीले कांग्रेसलाई कमजोर ठान्नुको कारण २०७९ समानुपातिक मत परिणाम पनि हो । २०७९ मा पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालिन सभापति शेरबहादुर देउवा राष्टिय व्यक्तित्व भएकोले २५ हजार ५३४ मत पाएर विजयी भए पनि सो पार्टीले समानुपातिकमा १८ हजार ५६३ मत मात्र पाएको थियो त्यो मत पनि अब हामीले तान्न सक्छौ एमालेका नेता तथा पूर्व जिविस सभापति गजेन्द्र शाहीले बताए । समानुपातिका एमालेले नौ हजार २१४, हालको नेकपा तत्कालिन नेकपा (माओवादी केन्द्र) ले आठ हजार ७११ र समाजवादीले ६११ गरेर नौ हजार ३२२ र रास्वपाले तीन हजार ६५० मत पाएको थियो ।
एमालेका नेता शाहीले भने, जसरी देउवाले २०६४ को संविधान सभा जित्न धौ धौ परेको थियो ठिक त्यस्तै अवस्था अहिले पनि हो । देउवाले त्यतिबेला तत्कालिन नेकपा (माओवादी केन्द्र) का खगराज भट्टलाई एक हजार ३६८ झिनो मतले पराजीत गरेका थिए । सो चुनावमा ५१ हजार ८६८ मत खसेकोमा देउवाले २० हजार ५२९ मत पाएर विजयी भएकोमा माओवादीका खगराज भट्टले १९ हजार १६१ र एमालेका विक्रमबहादुर शाहीले भने ७ हजार ९८२ मत पाएका थिए ।
नेकपाका उम्मेदवार मानसिंंह माल कांग्रेसका नैनसिंह महर सँधै देउवासंगै रहेकोले सत्ताधारी भएको, रास्वपाका जोशी प्रदेश सभा सदस्य भइसकेको, एमालेका स्नेही राष्टिय सभामा भइसकेकोले जेनजी पुस्ताको माग अनुसार नयाँ र पुरानालाई समेत जोडेर लैजान सक्ने, जनताका बीच जाने आफू मात्र रहेको र संसदीय चुनावमा पहिलो पटक लडेकोले आफू जित्ने बताउछन् ।
उनले डडेल्धुरा वामपन्थी मत भएको जिल्ला भएको राष्टिय नेता भएका कारण देउवा जित्ने गरेको भए पनि यसपटक अरु वाम उम्मेदवार भन्दा समाजवादी र माओवादी मिल्दा नेकपा बलियो भएकोले आफू जित्ने बताउछन् । रास्वपाका उम्मेदवार डा. ताराप्रसाद जोशी पनि आफ्नो छवी, रास्वपाको लहरका कारण आफू जित्ने दावी गर्छन ।
कांग्रेसका जिल्ला सहसचिव प्रेम महरले भने विपक्षी दलहरुको आन्तरिक एकता कमजोर हुनु, वाम दल एमाले, नेकपा, रास्वपाका डा. तारा ( पूर्व वाम) तीनतिर हुनु र २०६४ बाहेका सबै चुनाव सहजै जितेकोले फेरि पनि जित्ने हिसाव निकालेका छन् ।
उनले कांग्रेसले छ हजार क्रियाशिल सदस्य हुनु, सात पालिकामध्ये पाँच, ५२ वडामध्ये २९ जितेको, कांग्रेसका पुराना नेता कर्ण मल्ल फर्किने तयारीमा हुनु र पूर्व सभापति देउवा स्वास्थ्यका कारण कार्यक्रममा आउन नपाए पनि उनी निकट सबै चुनावमा सक्रिय हुनुलाई कांग्रेस जित्ने आधार हो भन्छन् । उनले कांग्रेस उम्मेदवार नैनसिंह निस्कलंक, बौद्धिक र चितपरिचित अनुहार भएकोले पनि जित्न सहज हुने बताए ।
देउवाले पहिलो पटक २०४८ मा भएको आमनिर्वाचन २४ हजार ५७० मत पाएर जित्दा उनका निकटतम प्रतिस्पर्धी थिए एमालेका गोविन्दबहादुर कलौनीले छ हजार ६२८ र राप्रपाका गणेशप्रसाद भट्टले तीन हजार ५८० मत पाएका थिए ।
२०५१ सालको मध्यावधी निर्वाचनमा पनि ३३ हजार ५२३ मत खसेकोमा देउवाले २० हजार ७०१ मत पाएर जिते भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाल जनवादी मोर्चाका खेमराज भट्ट (मायालु) ले नौ हजार ९६६ र राप्रपाका लालबहादुर खडायतले दुई हजार ८५६ मत पाएका थिए ।
२०५१ को चुनाव भन्दा २०५६ को आमनिर्वाचन देउवालाई अझ भएको थियो । सो निर्वाचनमा ४४ हजार २९३ खसेको मतमा देउवा २८ हजार ६५१ मत पाएर जित्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका बागेश्वरीदत्त चटौतले सात हजार ८४० र राप्रपाका गणेशप्रसाद भट्टले चार हजार ८९३ मत पाएका थिए ।
२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा देउवाले फेरि मतान्तर बढाउदै २३ हजार ९२० मत पाउँदा निकटतम प्रतिद्धन्द्धी एकीकृत नेकपा माओवादीका खगराज भट्टले १२ हजार ४९३ र एमालेका ताराप्रसाद जोशीले सात हजार १९० मत पाएका थिए ।
२०७४ सालमा वाम गठबन्धन हुँदा देउवाले २८ हजार ४४६ मत पाएर विजयी हुँदा गठबन्धनका भट्टले २१ हजार ४९८ पाएका थिए ।
२०७९ मा देउवाले २५ हजार ५३४ मतसहित सातौँ पटक जीत निकाल्दा स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ र नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले सात हजार ५३५ मत पाएका थिए ।
डडेल्धुरामा ९३ हजार ४०३ मतदाता छन् ।




