पाँच क्षेत्रबाट उम्मेदवार बनेका पाँच डाक्टरले चुनाव जित्लान त ?

धनगढी/राजनीतिमा पढेलेखेका आउदैनन् भन्ने चर्चा सँधै चलिरहन्छ तर सुदूरपश्चिमका चार क्षेत्रमा दर्शनशास्त्रमा विद्यावारिधी (पिएचडी) पढेका चार जना चुनावी मैदानमा उत्रिएका छन् । तर चारै जना डाक्टरले चुनाव जित्न कडा मेहनत गर्नु पर्ने देखिएको छ ।
चार मध्ये तीन जना डा. भीमबहादुर रावल अछाम क्षेत्र नम्बर १, डा. दीपकप्रकाश भट्ट कञ्चनपुर क्षेत्र नम्बर ३, डा. ताराप्रसाद जोशी डडेल्धुरा लामो समयदेखि राजनीतिमा छन् । भने कैलाली क्षेत्र नम्बर ५ बाट डा. आनन्द चन्द पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन । यस्तै सरकारी सेवा र राजनीतिक नियुक्ती पाएर अनुभव बटुलीसक्नु भएका डा. जनकबहादुर शाह कैलाली क्षेत्र नम्बर १ बाट प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका छन् ।
नेता रावलले राजनीतिक हिंसा तथा माओवादी विद्रोहमा विद्यावारिधि गरेका छन् । यस्तै गरेर कञ्चनपुर क्षेत्रनम्बर ३ का भट्टले भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू), दिल्लीबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गरेका छन् ।
नेपालबाट राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक अध्ययन गरेका डडेल्धुराका उम्मेदवार जोशीले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि हासिल गरेका छन् । कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार चन्दले जैविक रसायनशास्त्रमा स्नातकोत्तर र अमेरिकाको नर्थ क्यारोलिना एएन्डटी स्टेट युनिभर्सिटीसँगको सहकार्यमा विद्यावारिधि गरेका छन् ।
लामो समय नेकपा (एमाले) को राजनीतिमा रहेर सो पार्टीको केन्द्रीय उपाध्यक्षसमेत भएका डा. भीमबहादुर रावल अछाम क्षेत्र नम्बर १ बाट यसपटक नेकपाको उम्मेदवाका रुपमा चुनावी मैदानमा छन् । एमालेबाट २०४८, २०५१, २०५६, २०७० र २०७४ मा गरेर पाँच पटक चुनाव लड्नु भएका रावलले २०५१, २०७० र २०७४ मा जितेका थिए । उनी २०५१, २०५५, २०६५ र २०७२ मा गरेर चार पटक एमालेबाट मन्त्री र उप्रधानमन्त्री समेत भएका थिए ।
तर २०७९ मा अछामबाट एकल नाम सिफारिस हुँदा पनि उम्मेदवार हुन नपाएका रावललाई गत वर्ष एमालेले कार्वाही गरेको थियो । त्यसपछि मातृभूमी जागरण अभियान सञ्चालन गर्नु भएका रावल केही समयअघि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नेकपामा जोडिएर चुनावी मैदानमा छन् ।
रावलाई नेपाली कांग्रेसका भरतबहादुर स्वाँर र नेकपा (एमाले) का दीपकबहादुर साउदले चुनौती दिइरहेका छन् । स्वाँर पुराना राजनीतिज्ञ, २०४९ मा अछाम जिविसका सभापति र कांग्रेसको जिल्ला सभापति समेत भइसकेका छन् । भने माओवादी जनयुद्धमा होमिएका साउद सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका सदस्य सचिव भइसकेका छन् ।
२०७९ को चुनावको समानुपातिक मतको आधारमा डा. रावलले जित्न निक्कै मेहनत गर्नु पर्ने देखिन्छ । मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउद रावल, शेरबहादुर देउवापछि सुदूरपश्चिमबाट राष्ट्रिय उचाइको नेता भएकोले पार्टी भन्दामाथि उठेर मतदाताले मतदान गर्ने जित्ने दावी गरे । उनले भने रावल राष्ट्रिय उचाइको नेता हुन नै र निस्कलंक छवी भएकोले रावललाई जित्न सहज छ ।
चुनाव जित्नेमा ढुक्क देखिने डा. रावलले अछामका विभिन्न घरदैलो र कार्यक्रममा पनि देउवाको राजनीतिक अवकाश भएको जस्तो भएकोले सुदूरपश्चिमबाट राजनीतिक नेतृत्व गर्ने गरेर आफूलाई जिताउन आग्रह गरिरहेका छन् ।
२०७९ मा अछाम १ मा हालको नेकपा तत्कालिन नेकपा (माओवादी केन्द्र) ले सात हजार २२८ र समाजवादीले दुई हजार ७४७ गरेर नौ हजार ९७५ मत पाएको थियो । भने कांग्रेसले १४ हजार ५२५, एमालेले १३ हजार ९६८ मत पाएको थियो । समानुपातिक मतलाई आधार मान्दा रावलले जित्न कांग्रेस, एमालेका भोट तान्नु पर्ने हुन्छ । रावल पक्षधरहरु धेरै एमाले, केही कांग्रेस नेकपा प्रवेश गरिसकेको, कांग्रेस एमालेमा आन्तरिक विवाद चर्किएकोले जित्न पर्याप्त मत रहेको दावी गर्छन ।
कांग्रेसले आफ्नो दल एकताबद्ध भएको, वामपन्थी दलहरु विभाजित भएको र अनुभवी नेतालाई उम्मेदवार बनाएकोले जित्ने दावी गरेर प्रचारप्रसारमा छ । भने एमालेले आफ्ना भोट सुरक्षित रहेको, पार्टी एकढिक्का रहेको र नयाँ पुस्ताले खाजेकोलाई व्यक्तीलाई उम्मेदवार बनाएकोले जित सुनिश्चित रहेको दावी गर्ने गरेको छ ।
कञ्चनपुर क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार डा. दीपकप्रकाश भट्टलाई नेपाली कांग्रेसका हरिप्रसाद बोहरा र नेकपाका मानबहादुर सुनारले टक्कर दिइरहेका छन् । भट्ट सोही क्षेत्रबाट २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
यद्यपी उम्मेदवार डा. भट्ट महेन्द्रनगरमा विमानस्थाल निर्माण गर्ने, सुदूरपश्चिम विश्वविद्यालय, सुक्काबन्दरगाह, गेटाको मेडिकल विश्वविद्यालय बनाउने जस्ता काममा गरेको योगदान र अहिले आफूले उठाएको एजेण्डाले गर्दा आफूले चुनाव जित्ने दावी गर्छन । सो क्षेत्रमा गत निर्वाचनको समानुपातिक मत हेर्दा कांग्रेसले २० हजार ५७९, एमालेले ११ हजार ८१६ र हालको नेकपा तत्कालिन नेकपा (माओवादी केन्द्र) ले चार हजार ४६२ र समाजवादीले तीन हजार ९३३ गरेर आठ हजार ३९५ मत पाएको थियो ।
डडेल्धुरामा डा. ताराप्रसाद जोशीलाई २०४८ देखि २०७९ सम्म लगातार सात पटक चुनाव जितेको कांग्रेसका नैनसिंह महर, एमालेका चक्र स्नेही र नेकपाका मानसिंह मालले टक्कर दिइरहेका छन् । डा. जोशी भने स्वतन्त्र भएर पनि प्रदेश सभा जितेको, डडेल्धुराका विकास निर्माणमा २०५४ सालदेखि काम गर्दे आएको र कांग्रेस भित्रको विवादका कारण जनताले आफूलाई जिताउने विश्वास गर्नु व्यक्त गर्छन । एमालेबाट राजनीति शुरु गरेका डा. जोशी प्रदेश सभाबाट राजीनामा दिएर अहिले रास्वपाबाट उम्मेदवार बनेका छन् ।
डडेल्धुरामा २०७९ समानुपातिक मत परिणाम हेर्दा कांग्रेसले १८ हजार ५६३ एमालेले नौ हजार २१४, हालको नेकपा तत्कालिन नेकपा (माओवादी केन्द्र) ले आठ हजार ७११ र समाजवादीले ६११ गरेर नौ हजार ३२२ र रास्वपाले तीन हजार ६५० मत पाएको थियो ।
कैलाली क्षेत्र नम्बर ५ मा पनि रास्वपाका डा. आनन्द चन्दलाई कांग्रेसका नरनारायण शाह, एमालेका यज्ञराज ढुंगाना, नेकपाका प्रेम आलेमगर भारी पर्ने देखिन्छ । यो क्षेत्रमा अरु उम्मेदवारको तुलनामा डा. चन्द नयाँ अनुहार मानिन्छन् । आले डोटीबाट तीन पटक जितेको, मन्त्री भएको, कांग्रेसका प्रदेश महामन्त्री शाह र एमालेका जिल्ला अध्यक्ष ढुंगाना यही क्षेत्रमा राजनीतिक र सामाजिक काम गरेकोले चितपरिचित उम्मेदवार छन् । यद्यपी शाह र ढुंगाना पहिलो पटक संसदीय चुनावमा होमिएका छन् । डा. चन्द रास्वपाको समय भएकोले र आफ्ना चुनावी एजेण्डाले चुनाव जित्नेमा ढुक्क रहेको बताए ।
२०७९ को समानुपातिक मत अनुसार कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसले १५ हजार ६१७, एमालेले १४ हजार ३२१, हालको नेकपा ( तत्कालिन माओवादी केन्द्र र समाजवादीको जोड्दा ) छ हजार ६५६ र रास्वपाको चार हजार ४५५ मत पाएको थियो ।
नेकपा बनेपछि अलग भएका जनाद्र्धन शर्मा प्रभाकर लगायतका नेताद्धाराबाट गठित प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका डा. शाहलाई पनि चुनाव जित्न कठिन छ । थारु बाहुल कैलाली क्षेत्र नम्बर १ मा २०६४ सालदेखि थारु समुदायबाट उम्मेदवार बनेकाले नै चुनाव जित्ने गरेका छन् ।




