१६ फाल्गुन २०८२, शनिबार

दलका घोषणापत्र : सुदूरलाई सडकबाट तिब्बत जोड्नेदेखि ठुला जलविद्युतका योजनासम्म (घोषणापत्र सहित )



महाकाली करिडरको दार्चुला खण्डमा भइरहेको सडक निर्माणको काम

धनगढी/ आसन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशका प्रायः उम्मेदवारहरूले भारतको तिकुनियादेखि र चीनको तिब्बतसंग जोड्ने सडकदेखि ठुला विद्युत आयोजना बनाउनेसम्मका राष्ट्रिय महत्वका योजनालाई राजनीतिक दलका केन्द्रीय घोषणपत्रदेखि उम्मेदवारका आफ्ना चुनावी प्रतिबद्धतामा समेटिएका छन् ।

मुख्य दलका उम्मेदवारहरूले सेती र महाकाली लोकमार्ग मार्फत सुदूरपश्चिम प्रदेशका तराईका कैलाली र कञ्चनपुरलाई बझाङको उरैभञ्ज्याङ हुदै तिब्बतको ताक्लाकोट नाकासित जोड्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सेती र महाकाली लोकमार्ग निर्माण सुरु भएको १७ वर्ष पुगिसकेको छ । यी दुई सडक सञ्चालनमा आएपछि समग्र सुदूरपश्चिम प्रदेशको विकासमा गतिलो इँटा थपिने अपेक्षा समेत गरिएको छ ।

राजनीतिक दलहरूमात्रै नभएर उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, पर्यटन क्षेत्रका संघसंस्था लगायन निजी क्षेत्रले पनि हरेक सानाठूला मञ्चमा सेती र महाकाली लोकमार्ग निर्माणको बहस गर्दै आएका छन् । तर, अहिलेसम्म यी दुवै लोकमार्ग निर्माणको गति सुस्त नै रहेको छ ।

महाकाली लोकमार्ग ४१७ र सेती लोकमार्ग ३५९ किलामिटर लामो रहेका छन् । आसन्न निर्वाचनमा प्रायः ठूला दलका उम्मेदवारहरूले यी दुवै सडक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । नेकपा (एमाले) का उपमहासचिव तथा कैलाली क्षेत्र नम्बर ४ का उम्मेवार लेखराज भट्ट सेती लोकमार्गको छिटो निर्माणलाई आफूले प्राथमिकतामा राखेको बताउछ्न । दुई लोकमार्गलाई नेकपाको घोषणा पत्रमा पनि समेटिएको छ आफू त्यसको कार्यन्वयनका लागि लाग्ने डोटीका नेकपाका उम्मेदवार त्रिलोचन भट्टले बताए ।

अछाम क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँरले सेती लोकमार्गलाई प्राथमिकतामा राखे । कैलाली, डोटी, अछाम, बाजुराहुँदै बझाङसम्मको सेती लोकमार्गको निर्माणले आर्थिक विकासको गति समेत बृद्धि गर्ने उनको विश्वास छ ।

कैलाली क्षेत्र नम्बर ४ का एमालेका उम्मेवार भट्ट, क्षेत्र नम्बर ५ का नेकपाका प्रेम आलेमगर र डोटीका नेपाली कांग्रेसका भरतबहादुर खड्का, र डोटीकै नेकपाका त्रिलोचन भट्टले धनगढी, खुटिया, दिपायल सुरुङ मार्ग सहितको ९२ किलोमिटरको फास्ट ट्रयाक सडकलाई महत्वका साथ आआफ्नो चुनावी घोषणापत्रमा समावेश गरेका छन् । धनगढी दिपायल, उरैभन्ज्याङ द्रूतमार्ग निर्माण जारी रहे पनि बजेट अभावका कारण तीब्र गतिमा काम अघि नबढेको डोटीका कांग्रेस उम्मेदवार खड्काले बताए ।

प्रायः उम्मेदवारहरूले मुख्यरुपमा महाकाली, सेती र कर्णाली नदी प्रणाली सुदूरपश्चिमको ऊर्जा मेरुदण्ड मान्दै तिनको निर्माणमा ध्यान दिनु पर्नेमा जोड दिएका छन् । ती नदीहरूबाट १० देखि १२ हजार मेगावाट जलविद्युत उत्पादनको सम्भावना छ ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना मात्रै छ हजार ४८० मेगावाट उत्पादन गर्ने प्रारम्भिक अनुमान छ । दशकौदेखि चर्चामा रहेको पश्चिमसेती ७५० मेगावाटको निकै आकर्षक योजना मानिएको छ । एकीकृत महाकाली सम्झौता अन्तरगत पञ्चेश्वर जलविद्युत आयोजना अगाडि बढाउने भनिएको धेरै समय वितिसकेको छ ।

कांग्रेसको घोषणापत्रमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय हितको अधिकतम रक्षा गर्दै प्राविधिक र राजनीतिक सहमतिमार्फत कार्यान्वयनमा लैजान गम्भीर पहल गर्ने, आवश्यक परे सरकारबाट भाएबिलिटी ग्याप फन्डिङ उपलब्ध गराउँदै वेतन कर्णाली सेती जस्ता अद्र्धजलाशय युक्त आयोजनाको निर्माण प्राथमिकताका साथ सुरु गर्ने जनाएको छ । महाकाली सन्धीका ताका सबैभन्दा बढी हालका एमाले अध्यक्ष केपी शर्मा ओली सक्रिय थिए । तर पञ्चेश्वरमा एमालेले मौनता साधेको छ ।

यसबीचमा पश्चिम सेती र माथिल्लो कर्णाली आयोजनाका काम शुरु भए पनि तीब्रता पाएका छैनन् ।

कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण भइरहेको सुख्खा बन्दरगाह पनि देशकै लागि गेम चेन्जर हुने बताउने एमालेबाट कञ्चनपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा. दीपकप्रकाश भट्ट कैलालीको गेटामा घोषणा गरिएको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु पर्ने विषय घोषणापत्रमा उल्लेख गरे । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई नेकपाको घोषणापत्रमा समेत समेटिएको छ ।

कैलालीका सबै दलका उम्मेदवारहरूले कुनै पनि दलको घोषणापत्रमा नपरेको धनगढी विमानस्थललाई अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउने प्रतिबद्धता गरेका छन् ।

पूर्वाधार विकासका सवालमा मुख्य तीन दलले विभिन्न विषय उठाएर मतदातालाई आर्कषित गर्न खोजेको पाइन्छ । घोषणा पत्रमा कांग्रेसले पूर्वपश्चिम राजमार्गले चार लेनमा बिस्तार गर्ने, मदन भण्डारी राजमार्ग र उत्तर दक्षिण कोरिडरहरूको निर्माण सम्पन्न गर्ने, पूर्वपश्चिम रेलमार्गको निर्माण, हुलाकी राजमार्गका नयाँ सहरहरूमा आधुनिक सुविधा बिस्तार गर्ने जस्ता कुरा उठाएको छ । भने एमालेले पनि पूर्वपश्चिम राजमार्गलाई एक्सप्रेस हाइवेमा स्तरोन्नति गर्ने, हुलाकी राजमार्गलाई रणनीतिक राजमार्गको रुपमा विकास गर्ने भनेर आशावादी हुने ठाउँ देखाएको छ । नेकपाले गड्डाचौकी–चिसापानी सडक खण्ड चार लेनको निर्माण गरिने उल्लेख गरेको छ ।

लाखौ पर्यटकको सम्भावना
खप्तडको शान्त वातावरण, बडिमालिकाको धार्मिक महत्व, अपी–साइपालको हिमाली साहसिक यात्रा, शुक्लाफाँटाको वन्यजन्तु, घोडाघोडी ताल, टीकापुर पार्क र कर्णाली चिसापानी क्षेत्र यी सबै मिलाएर सुदूरपश्चिम प्रदेशलाई बहुआयामिक पर्यटन केन्द्र बनाउनु पर्ने एमालेबाट बाजुराका उम्मेदवार लालबहादुर थापा बताउछन् ।

निजी क्षेत्रका व्यवसायी थर्कबहादुर शाह पनि उचित पूर्वाधार, अन्तर्राष्ट्रिय प्रचार र निजी लगानी भए वार्षिक २० लाख भन्दा बढी पर्यटक भित्राउन सकिने अनुमान गर्छन ।

कांग्रेसले सुदूरपश्चिमका संस्कृति अनुसार सांस्कृतिक राजधानी र पर्यटन सर्किट निर्माण गर्ने, थारु समुदायको उत्थान र विकास गर्ने कुरा उठाएर पर्यटक ल्याउने विषय समेटेको छ । भने आफ्नो केन्द्रीय घोषणापत्रमा नेकपाले सुदूरपश्चिम प्रदेश धार्मिक तथा पर्यावरणीय पर्यटन र कृषि हव बनाइन धारणा राखेको छ ।

कृषिमा हेक्टरको सुनौलो अवसर
सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुर नेपालको अन्न भण्डार बन्न सक्ने क्षमता राख्छ भने पहाडी जिल्लामा फलफूल, आलु र जडीबुटी खेतीको ठूलो सम्भावना छ ।

कृषिविज्ञ यज्ञराज जोशी सुदूरपश्चिममा पारंगारिक कृषि उत्पादन गरेर वार्षिक एक खर्ब भन्दा बढी आम्दानी दिन सकिने दाबी गर्छन । कांग्रेसले महाकाली सिंचाइ आयोजनालाई कृषि प्रणालीसँग जोडेर समयमै सम्पन्न गर्ने, एमाले र नेकपाले राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिंचाइ आयोजनालाई सम्पन्न गरिने विषय उल्लेख गरेर कृषि क्षेत्रलाई प्राथमिकता दिएका छन् ।

रास्वपाले भने आफ्नो बाचापत्रमा सुदूपश्चिमका सवालमा नीतिगत सवाल मात्र उठाएको छ । कृषि केन्द्रीत उद्योगबाट सुदूरपश्चिमलाई समृद्ध बनाउन र बेरोजगारी घटाउने एजेण्डा आफूले बोकेको बताउने डडेल्धुराबाट रास्वपाका उम्मेदवार डा. ताराप्रसाद जोशी आफूले पनि चुनावमा राष्टिय रुपमा प्रभाव पार्ने मुद्धा उठाएको बताउदै आफ्नो दल सरकारमा गएपछि ती कुरा कार्यक्रममा समेटर अघि बढ्ने बताउछन् ।

यद्यपी सामाजिक तथा राजनीतिक विश्लेषक डिल्लीराज जोशी विभिन्न दलका उम्मेदवारले राष्ट्रिय स्तरका मेगा योजनाको चाङ लगाएको भए पनि मुख्य राजनीतिक दलहरूले ल्याएका घोषणा पत्रमा सुदूरपश्चिमको मुहार मधुरो देखिएको बताछन् । उनले गरिबी घटाउन, विदेश जाने वातावरण अन्त्य गर्न र सीमा सुरक्षाका विषयमा दलहरु मौन रहेकोमा आक्रोश व्यक्त गरे ।

हेर्नुस मुख्य चार दलले आफ्नोे घोषणापत्रमा समेटेका सुदूरपश्चिमका सवालहरु
नेपाली कांग्रेस
सुदूरपश्चिम प्रदेशमा प्रायः सबै निर्वाचनमा राम्रो प्रदर्शन गरेको नेपाली काँग्रेसले ३० वर्षदेखि अलपत्र रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय हितको अधिकतम रक्षा गर्दै प्राविधिक र राजनीतिक सहमतिमार्फत कार्यान्वयनमा लैजान गम्भीर पहल गर्ने, आवश्यक परे सरकारबाट भाएबिलिटी ग्याप फन्डिङ उपलब्ध गराउँदै वेतन कर्णाली सेती जस्ता अद्र्धजलाशय युक्त आयोजनाको निर्माण प्राथमिकताका साथ सुरु गर्ने भनेको छ ।

पूर्वपश्चिम राजमार्गले चार लेनमा बिस्तार गर्ने, मदन भण्डारी राजमार्ग र उत्तर दक्षिण कोरिडरहरूको निर्माण सम्पन्न गर्ने, पूर्वपश्चिम रेलमार्गको निर्माण सम्बन्धमा जमिनको मुआब्जाको विषय टुङ्गै सम्भाव्यताको आधारमा काम अगाडि बढाउने, सुदूरपश्चिम प्रदेश सरकारले का साथ अघि बढाएको सडक सञ्जाललाई साथ दिने लेखिएको छ ।

प्रदेश सरकार तथा स्थानीय तहहरूले सञ्चालन गरेका पूर्वाधार क्षेत्रका गौरवका आयोजनाहरू स्रोत र क्षमताको अभावमा सम्पन्न हुन नसकेको हुँदा थप स्रोत हस्तान्तरण गरी पूर्वाधार विकासको गतिलाई तीव्रता दिने, सबै प्रदेश राजधानीबाट तहको केन्द्र जोड्ने सडक स्थानीय तहको केन्द्रबाट वडापालिका केन्द्र र बजार जोड्ने सडक, पाँच वर्षभित्र घरविहिन अवस्थाबाट सबै नेपालीलाई मुक्त गर्ने भनिएको छ ।

सुविधायुक्त आधुनिक सहरको रुपमा विकास गर्न लगानी गर्ने उत्तर दक्षिण कोरिडोर मध्य पहाडी र हुलाकी राजमार्गका नयाँ सहरहरूमा आधुनिक सुविधा विस्तार गर्ने, महाकाली सिंचाइ आयोजनालाई कृषि प्रणालीसँग जोडेर समयमै सम्पन्न गर्ने, सुदूरपश्चिमका संस्कृति अनुसार सांस्कृतिक राजधानी र पर्यटन सर्किट निर्माण गर्ने, थारु समुदायको उत्थान र विकास गर्ने भनिएको छ ।


नेकपा (एमाले)
सुखी नेपाली राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य भन्ने उद्घोषका घोषणा पत्र जारी गरेको एमालेले पनि सुदूरपश्चिम छोएको छ तर आत्मसात कम गरेको देखिएको छ ।

रानी–जमरा–कुलरिया सिंचाइ आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने, पूर्वपश्चिम राजमार्गलाई एक्सप्रेस हाइवेमा स्तरोन्नति गर्ने, मध्यपहाडी पुष्पलाल राजमार्गलाई डेडिकेटेड डबल लेनको स्तरमा निर्माण गर्ने , मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्गलाई रणनीतिक राजमार्गको रुपमा विकास गर्ने भनिएकोले यी राजमार्गले सुदूरपश्चिम पनि छुनेछ भनेर आशावादी हुने ठाउँ देखिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग, कर्णाली कोरिडरमा उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि विकास कलस्टरको रूपमा कोरिडोर सिटीहरू निर्माण गरिने भनिएको छ ।

एक प्रदेश एक सेज (विशेष आर्थिक क्षेत्र) सञ्चालनमा ल्याउने, एक पालिका एक वन उद्यम अवधारणा, अनुसार सामुदायिक निजी सरकारी लगानीमा वन पैदावारमा आधारित उद्योग खोल्नका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भनिएको छ ।

उपमहानगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय केन्द्र, व्यापारिक केन्द्र, आविष्कार केन्द्र, पूर्वाधार केन्द्र, स्वास्थ्य, शिक्षा सेवाको केन्द्र अवसरको केन्द्र ,क्षेत्रीय तथा अन्तर्राष्ट्रिय यातायात हवको रुपमा विकास गरी मेगासिटीमा रूपान्तरण गर्ने भनिएकोले एउटा धनगढी उपमहानगरपालिका भएको सुदूरपश्चिमले आशावादी हुनुपर्नेछ । क्षतिग्रस्त प्रदेश सभा भवन नगरपालिका अदालत लगायतका भवनहरू निर्माण गर्ने भनिएकोले २०८२ भदौ २४ गतेको घटमा क्षति भएका संरचनाको सङ्घीय बजेटबाट पुनः निर्माण हुने देखिन्छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)
नेकपाले राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया, महाकाली तेस्रो समयबद्ध रूपमा सम्पन्न गरिने, सुदूरपश्चिमा इन्स्टिच्युट अफ टेक्नोलोजी स्थापना गरिने, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने, सातै प्रदेशमा कृषि औद्योगिक पार्क स्थापना गरी उत्पादन प्रशोधन अनुसन्धान र सीप विकास केन्द्र सञ्चालन गरिने उल्लेख गरेको छ ।

सुदूरपश्चिम प्रदेश धार्मिक तथा पर्यावरणीय पर्यटन र कृषि हव बनाइने, प्रदेशमा एक अनुसन्धान केन्द्र स्थापना गरी प्रत्येक केन्द्रमा कम्तीमा १० देखि १०० वैज्ञानिक राख्ने व्यवस्था मिलाइने भनेको छ ।

हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग आसपास व्यावसायिक कृषि खाद्य प्रशोधन कोरिडर विकास गरिने, पूर्वपश्चिम राजमार्ग, मध्यपहाडी राजमार्ग, महाकाली करिडोर, गड्डाचौकी–चिसापानी सडक खण्ड चार लेनको निर्माण गरिने, खुटिया–दिपायल–चैनपुर–उरै भन्ज्याङ योजनाको निर्माण सम्पन्न गर्ने, पूर्वपश्चिम रेलमार्गको प्रक्रिया अगाडि बढाइने, साथै प्रदेशमा कम्तीमा एकएक सित भण्डार र बहुस्तरीय कृषि थोक बजार निर्माण गरिने, थारु समुदाय लक्षित कार्यक्रम गर्ने घोषणा पत्रमा उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
रास्वपाले रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरू राखिएको बाचापत्र सार्वजनिक गरिएको छ । अधिकांश बाचाहरू नीतिगत सुधार र प्रशासनिक सुधारका रहेको घोषणा पत्रमा सडक दुर्घटना घटाउन, गति नियन्त्रण गरिने, सेफ्टी बेरियरराख्ने, राजमार्ग छेउमा विस्तार भएका सुदूरपश्चिमको अत्तरिया जस्ता सहरलाई लामो दूरीमा चल्ने बस र ट्रकको ध्वनि प्रदूषण, ट्राफिक जाम र असुरक्षाबाट बचाउन नयाँ बाइपास सडकहरू बनाउनेछौं भनिएको छ ।

हरेक प्रदेशमा कम्तिमा एक अत्याधुनिक नमुना समावेशी विद्यालय स्थापना गर्ने, प्रदेशमा कम्तीमा एक अत्याधुनिक अपाङ्गता पुनस्थापना विशिष्टीकृत स्रोत केन्द्र स्थापना गरी अपाङ्गता भएका नागरिकलाई गुणस्तरीय र एकीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्ने बाचापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार