१५ फाल्गुन २०८२, शुक्रबार

स्वीजरल्याण्डको बाउ रास्वपाको बाचापत्रमा समेटिएनन्




धनगढी/
धनगढीमा आयोजित कार्यक्रममा रास्वपाका बरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले दिएको अभिव्यक्ति र बाचापत्रबीच फरक देखिएको टिप्पणी सुरु भएको छ ।

कार्यक्रममा उनले नेपाललाई स्वीजरल्याण्ड बनाउनुपर्दैन, स्वीजरल्याण्डको बाउ बडीमालिका, खप्तड र रामारोशन यही छ” भन्दै सुदूरपश्चिमको प्राकृतिक सम्पदाको बयान गरेका थिए । बडीमालिका, खप्तड र रामारोशन जस्ता पर्यटकीय गन्तव्यलाई राष्ट्रिय गौरवका रूपमा अघि बढाउनुपर्ने उनको जोड थियो ।

तर धनगढीको कार्यक्रमपछि सुर्खेतबाट सार्वजनिक गरिएको बाचापत्रमा सुदूरपश्चिमका यी विशिष्ट स्थलहरूको नामै उल्लेख छैन । बालेनले स्थानीय भाषामा भावानात्मक भाषण दिए पनि आधिकारिक दस्तावेजमा क्षेत्रगत प्राथमिकता स्पष्ट रूपमा नदेखिएको भन्ने टिप्पणी धनगढीका युवा समाजसेवी दीपक सिंहले गरे ।

कांग्रेस, कम्युनिष्टलाई गलत भन्ने बालेनले भाषणबाट जनता झुक्काउन खोजेको पनि उनले बताए ।

रास्वपाले ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार’ शीर्षकमा सार्वजनिक गरेको छ बाचापत्रमा अधिकांश प्रतिबद्धता नीतिगत र प्रशासनिक सुधारमा केन्द्रित छन् । सडक दुर्घटना घटाउन गति नियन्त्रण कडाइका साथ लागू गर्ने, सेफ्टी बेरियर राख्ने, राजमार्ग आसपास बिस्तार भएका सहरलाई ट्राफिक जाम, ध्वनि प्रदूषण र असुरक्षाबाट जोगाउन नयाँ बाइपास सडक निर्माण गर्ने योजना समेटिएको छ ।

सुदूरपश्चिमको अत्तरिया जस्ता राजमार्ग छेउका सहरलाई लक्षित गर्दै लामो दूरीका बस र ट्रकलाई सहरबाहिरबाट सञ्चालन गर्ने नीति लिइने उल्लेख गरिएको छ ।

त्यस्तै, प्रत्येक प्रदेशमा कम्तीमा एक अत्याधुनिक नमुना समावेशी विद्यालय स्थापना गर्ने, अपाङ्गता भएका नागरिकका लागि विशिष्टीकृत पुनःस्थापना स्रोत केन्द्र स्थापना गरी एकीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धता पनि बाचापत्रमा समावेश छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार