बाजुराका एमाले उम्मेदवार थापाको प्रतिबद्धतापत्र सार्वजनिक विकास, सुशासन, रोजगारी प्राथमिकता

मार्तडी/ फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) का बाजुराका उम्मेदवार लालबहादुर थापा ले आगामी कार्यकालका लागि आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै संविधानको रक्षा, सुशासन सुदृढीकरण, गुणस्तरीय पूर्वाधार निर्माण, कृषि आधुनिकीकरण, शिक्षा–स्वास्थ्य सुधार र पर्यटन प्रवर्द्धनमार्फत जिल्लाको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
थापाले जनताको विश्वास र सहभागितामार्फत विकासका योजना कार्यान्वयन गर्ने बताएका छन् ।
संविधान रक्षा र सुशासन
प्रतिबद्धता–पत्रमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा पहिलो प्राथमिकता रहने उल्लेख छ । प्रशासनिक संयन्त्रलाई पारदर्शी, उत्तरदायी र भ्रष्टाचारमुक्त बनाउँदै सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउने योजना अघि सारिएको छ । सार्वजनिक खर्चको प्रभावकारी उपयोग, अनियमितता नियन्त्रण र नागरिकको गुनासो सुनुवाइलाई सुदृढ गर्ने प्रतिवद्धता जनाइएको छ ।
सुरक्षित र गुणस्तरीय पूर्वाधार
पालिकाहरू जोड्ने मुख्य सडक स्तरोन्नति, नयाँ सडक निर्माण, पुल तथा कल्भर्ट निर्माण, सार्वजनिक यातायात व्यवस्थापन सुधार र यातायात पहुँच विस्तार गर्ने योजना उल्लेख गरिएको छ । ग्रामीण क्षेत्रमा विद्युत् विस्तार, ऊर्जा आपूर्ति सुधार, प्रत्येक घरमा सुरक्षित खानेपानी र डिजिटल पूर्वाधार विकासलाई प्राथमिकता दिइने जनाइएको छ । सार्वजनिक भवन, खेल मैदान तथा सामुदायिक संरचना निर्माणमा समेत जोड दिइने छ ।
कृषि, स्वरोजगार र उद्यमशीलता
कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधि प्रयोग, सिँचाइ विस्तार, कृषि हाटबजार तथा भण्डारण केन्द्र स्थापना, पशुपालन र तरकारी खेतीको व्यावसायीकरणमार्फत रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ । युवालाई उद्यमशीलतामा प्रोत्साहन, सहुलियत ऋण पहुँच र स्थानीय उत्पादनको बजार सुनिश्चित गर्ने कार्यक्रम समेटिएको छ ।
स्वास्थ्य, शिक्षा र सामाजिक सेवा
जिल्ला अस्पतालको स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार, गर्भवती महिला, ज्येष्ठ नागरिक र विपन्न समुदायका लागि सहज स्वास्थ्य पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता गरिएको छ । विद्यालयमा गुणस्तरीय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार, डिजिटल शिक्षण प्रणाली प्रवर्द्धन र विद्यार्थीको स्वास्थ्य सुरक्षामा विशेष कार्यक्रम सञ्चालन गर्ने योजना उल्लेख छ । सामाजिक सुरक्षाका कार्यक्रमलाई प्रभावकारी बनाइने जनाइएको छ ।
पर्यटन प्रवर्द्धन र संस्कृति संरक्षण
स्थानीय धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटक आकर्षण बढाउने पूर्वाधार विकास, होमस्टे प्रवर्द्धन र स्थानीय कला–संस्कृतिको संरक्षण तथा प्रचार–प्रसारमा जोड दिइने बताइएको छ । पर्यटनमार्फत स्थानीय रोजगारी र आयआर्जन वृद्धि गर्ने लक्ष्य राखिएको छ ।
थापाले प्रतिबद्धता–पत्र केवल घोषणा नभई कार्यान्वयन गर्ने संकल्प रहेको उल्लेख गर्दै जनताको सक्रिय साथ र निगरानीमा योजनाहरू अघि बढाउने बताएका छन् । उनले विकास, सुशासन र सामाजिक न्याय सुनिश्चित गर्दै जिल्लालाई समृद्ध बनाउने विश्वास व्यक्त गरेका छन् ।





