मधेश बलियो भए मात्रै मुलुकमा संघीयता सुरक्षित रहन्छ : यादव

सप्तरी , फागुन १० गते/ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संघीय प्रणालीको रक्षा मधेशको बलियो उपस्थिति र खबरदारीमा मात्रै निर्भर रहेको बताएका छन् । संघीयताको जननी नै मधेश प्रदेश भएकोले मधेशको संघर्ष, बलिदान र आन्दोलनकै परिणामस्वरूप देशमा संघीयता स्थापित भएको उनले स्मरण गराए ।
‘संघीयतालाई असफल देखाउने, अधिकार कटौती गर्ने र पुनः केन्द्रिकृत शासनतर्फ फर्काउने प्रयास भइरहेको छ,’ सप्तरीको चुनावी अभियानमा रहेका अध्यक्ष यादवले आइतबार मतदातालाई सम्बोधन गर्दै भने, ‘तर मधेश जागरुक छ भने त्यस्ता कुनै पनि षड्यन्त्र सफल हुँदैनन् ।’
सप्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदबार समेत रहेका जसपा नेपालका अध्यक्ष यादवले संघीयतामाथि भइरहेको प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै केही शक्तिहरू संघीय व्यवस्थालाई कमजोर पार्ने र अन्ततः समाप्त गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
‘मुलुकमा संघीयता धानिएकै मधेश प्रदेशको दृढ अडानको कारणले हो । मधेशले आवाज उठाएन भने संघीयता केवल कागजमा सीमित हुनेछ । अधिकारको रक्षा गर्न मधेश सधैं अग्रपंक्तिमा उभिएको छ,’ अध्यक्ष यादवले भने ।
मधेशको शक्तिलाई कमजोर बनाउने कुनै पनि प्रयास अन्ततः संघीयता कमजोर पार्ने प्रयास भएको उनले स्पष्ट गरे ।
‘मधेश कमजोर भयो भने संघीयता रहँदैन । त्यसैले मधेशलाई राजनीतिक, आर्थिक र प्रशासनिक रूपमा बलियो बनाउनु आजको अपरिहार्य आवश्यकता हो,’ उनले जोड दिए ।
चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयताको रक्षा, अधिकारको सुनिश्चितता र स्वाभिमानको संरक्षणका लागि मतदानमार्फत् जसपा नेपाललाई बलियो बनाउन आमजनतालाई सार्वजनिक अपील गरेका छन् ।




