६ फाल्गुन २०८२, बुधबार

“भोट होइन, जिम्मेवारी दिनुस्”बालेन




धनगढी/ बालेन साहले चुनावी भाषणको परम्परागत शैली तोड्दै सुदूरपश्चिमका मतदातासँग फरक आग्रह गरेका छन्। बुधबार धनगढीमा आयोजित सभामा बोल्दै उनले आफूहरू भोट माग्न नभई कामको जिम्मेवारी लिन आएको बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेतासमेत रहेका शाहले सुदूरपश्चिमलाई “सु–नजिक प्रदेश” बनाउने लक्ष्य राखिएको उल्लेख गरे। उनका अनुसार विकास र सेवा नागरिकको नजिक पुग्ने गरी संरचना र सोच परिवर्तन आवश्यक छ।

उनले भने, “हामी यहाँ भोट माग्न आएका होइनौँ, काम माग्न आएका हौँ। तपाईंहरू समस्या र कामको सूची दिनुस्, हामी त्यसैमा केन्द्रित हुन्छौँ।”

साहले राजनीतिक संस्कृतिमा परिवर्तन आवश्यक रहेको औंल्याउँदै भोटभन्दा कामलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। “तपाईंहरूले भोट नदिए पनि हामी सुदूरपश्चिमको विकासका लागि काम गर्न तयार छौँ,” उनले भने, “हाम्रा उम्मेदवारलाई के–के काम गर्नुपर्छ भन्ने स्पष्ट सूची दिनुस्, जिम्मेवारी लिन हामी तयार छौँ।”

उनको भनाइमा, नागरिकले नेतासँग आश्वासनभन्दा परिणाम माग्नुपर्छ र राजनीतिक दलले पनि जनताको अपेक्षालाई काममार्फत प्रमाणित गर्नुपर्छ।

सभामा उपस्थित समर्थक र स्थानीयलाई सम्बोधन गर्दै साहले विकासको बहसलाई नाराभन्दा व्यवहारमा लैजानुपर्नेमा जोड दिए। उनले सुदूरपश्चिमका सम्भावना—पर्यटन, कृषि र पूर्वाधार—लाई सही योजना र इमानदार कार्यान्वयनमार्फत अघि बढाउन सकिने बताए।

यसरी बालेनको सन्देशले चुनावी मैदानमा “भोट होइन, काम” भन्ने नयाँ विमर्श अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार