बाजुरामा मातृशोकका बीच एमालेका थापा चुनावी मैदानमा

बाजुरा / फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा नेकपा (एमाले) ले केन्द्रीय सदस्य लालबहादुर थापालाई उम्मेदवार बनाएको छ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएर संसद् पुगेका थापा यसपटक पनि बाजुराबाट प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीसँगै मुख्य दाबेदार मानिन्छन्।
चुनावी मैदानमै रहेका बेला थापाले मातृशोक बेहोर्नुपरेको छ। उनकी आमा कलसी थापाको माघ २५ गते ८९ वर्षको उमेरमा निधन भएको हो। चुनावी चटारोबीच आमाको निधनले थापाको परिवारमा शोकको वातावरण छ।
यद्यपि सामाजिक संस्कार र कर्तव्य पूरा गर्दै उनी प्रचार–प्रसारमा निरन्तर जुटिरहेका छन्। आमाकै प्रेरणाले समाज सेवामा लागेको बताउँदै थापाले शोकका बीच पनि अभियानलाई निरन्तरता दिएको बताए।
‘आमाले सधैँ जनताको सेवा गर्न सिकाउनुभयो, त्यसैले उहाँकै प्रेरणाले म अभियानमा फर्किएँ,’ उनले गाउँस्तरीय एक चुनावी कार्यक्रममा भने। उनले आफ्नी आमा अनुशासन र इमानलाई सर्वोपरि ठान्ने महिला रहेको पनि उल्लेख गरे।
भौगोलिक विकटताका कारण चुनौतीपूर्ण मानिने बाजुरामा यसपटक सडक पूर्वाधार, स्वास्थ्य सेवा, शिक्षा र रोजगारीका विषय नै उम्मेदवारहरूको मुख्य चुनावी एजेन्डा बनेका छन्।
बुढीगंगा नगरपालिका–३, ब्रहमतोलामा जन्मिएका थापा काममा केन्द्रित रहने नेता मानिन्छन्। थापा अहिले बाजुराका इन्चार्ज छन्।
२०४४ सालमा नेपाल ल क्याम्पसमा विद्यार्थी राजनीतिबाट थापाको पार्टी–यात्रा सुरु भयो। त्यतिबेला उनी क्याम्पस प्राकका उपाध्यक्ष र पार्टी कमिटी सदस्य थिए। ०५३ सालमा जिल्ला सचिव बनेर जिल्लाको नेतृत्व सम्हालेका उनी ०६९ सालमा जिल्ला अध्यक्ष पनि बने।
२०५४ को स्थानीय चुनावमा उनका नेतृत्वमा एमालेले जिल्लामा धेरै गाविस जित्यो। त्यसपछि उनी जिल्ला विकास समितिका सभापति बने। बाजुराका लागि पाँच वर्षे योजना बनाएर लागू गर्ने उनी सम्भवत नेपालका पहिलो जिविस सभापति मानिन्छन्।
०६९ मा जिल्ला अध्यक्ष भएपछि उनले २०७० को संविधानसभामा पार्टीलाई जिताए, जसको आधारमा २०७४ मा उनी प्रतिनिधि सभा चुनावमा पनि विजयी भए।
प्रतिनिधि सभा सदस्य भएपछि पनि उनले बाजुराका विकासमा सक्रिय भूमिका खेले। गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले थापाको विकास दृष्टिकोण कठिन गाउँहरूबाट सुरु हुने मान्यता व्यवहारमै प्रभावकारी भएको बताए। रोकायाले यसपटक थापाको उचित मूल्यांकन हुनुपर्ने धारणा राखे।





