कैलाली–२ मा ‘हरित समृद्धि’को रोडम्याप सार्वजनिक, थापाको रोजगारी र पूर्वाधारमा जोड

लम्की/ कैलाली क्षेत्र नम्बर २ का नेकपा (एमाले)का उम्मेदवार सूर्यबहादुर थापाले आइतबार आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आर्थिक रूपान्तरण, कृषि आधुनिकीकरण र पूर्वाधार विस्तारलाई मुख्य प्राथमिकतामा राखेका छन्।
सार्वजनिक दस्तावेजमा ‘हरित समृद्धि अभियान’ मार्फत स्मार्ट कृषि, ग्रामीण समृद्धि र वातावरणमैत्री उत्पादन प्रणाली विकास गर्ने लक्ष्य उल्लेख गरिएको छ। क्षेत्रभित्र सडक स्तरोन्नति, सिंचाइ विस्तार र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि योजनाबद्ध पहल गर्ने प्रतिबद्धता जनाइएको छ।
थापाले युवालाई सीपमूलक तालिममार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने, सामुदायिक विद्यालय सुदृढ गर्दै गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने तथा आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ बनाउने योजना अघि सारेका छन्। आफू निर्वाचित भए राज्यबाट प्राप्त सेवा–सुविधा विपन्न र जेहेन्दार बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा पनि उनले गरेका छन्।
कृषि क्षेत्रलाई उच्च मूल्यका उत्पादनको केन्द्र बनाउने उद्देश्यसहित राजाकाँडा फलफूल बगैँचा परियोजना सञ्चालन, सुन्तला, कागती, एभोकाडो लगायतका बालीको एकीकृत खेती विस्तार तथा बहुमूल्य जडीबुटी करिडोर स्थापना गर्ने योजना समेटिएको छ। संकलन, प्रशोधन र निर्यात संरचना विकास गर्दै उत्पादन र रोजगारी बढाउने लक्ष्य राखिएको छ।
पूर्वाधारतर्फ सडक, पुल, विद्युत्, सिंचाइ र खानेपानी आयोजनालाई तीव्रता दिने, सुरक्षित आवास कार्यक्रम अघि बढाउने, जलविहार केन्द्र विकास गर्ने तथा पालिकाबीच सडक सञ्जाल विस्तार गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ। आवश्यक स्थानमा पक्की र झोलुङ्गे पुल निर्माण गर्ने योजना पनि समावेश छ।
कृषि प्रवर्द्धन अन्तर्गत वैज्ञानिक तीनबाली प्रणाली विस्तार, ड्रिप तथा स्प्रिंकलर सिंचाइ प्रविधि प्रवर्द्धन र हाई–टेक तरकारी जोन स्थापना गर्ने योजना अघि सारिएको छ। प्रतिबद्धता पत्र आठ शीर्षकमा विभाजित छ, जसमा आर्थिक, सामाजिक, कृषि, पूर्वाधार, युवा तथा खेलकुद, वन–वातावरण, पर्यटन र सुशासन क्षेत्र समेटिएका छन्।
चिसापानी–राजकाँडा केवलकार अभियानसँग जोडिएका थापाले सुदूरपश्चिमलाई पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राख्दै पाँच वर्षभित्र पाँच हजार रोजगारी सिर्जना गर्ने र २० हजार परिवारलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।




