यस्ता छन् , कैलाली–१ मा एमाले उम्मेदवार न्यौपानेका पाँच वर्षे प्रतिबद्धता

टीकापुर/ कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले आगामी पाँच वर्षमा सम्पन्न गर्न सकिने पाँचवटा मुख्य प्रतिबद्धताबारे मतदाताबीच चर्चा र छलफल सुरु गरेका छन्।
शहरी विकास, सडक र सुरक्षाअन्तर्गत उनले कर्णाली नदी नियन्त्रणका लागि तटबन्ध निर्माणलाई पूर्णता दिने, नदी किनारमा दुई लेनको सडक निर्माण गर्ने योजना अघि सारेका छन्। साथै, सडकको पूर्वतर्फ पर्ने नदी क्षेत्रमा जलविहार तथा खेलकुद विकास गर्ने र पश्चिमतर्फको जङ्गल क्षेत्रमा जडीबुटी तथा फलफूल खेती विस्तार गर्ने अवधारणा उनले प्रस्तुत गरेका छन्।
उम्मेदवार न्यौपानेले निर्वाचन क्षेत्रका चारवटा पालिका जोड्ने चक्रपथ विस्तार गर्ने, टीकापुर नगरपालिका–७ स्थित दुर्लभ जलचर डल्फिनको बासस्थान पथरैया–काँडा नदी दोभानमा झोलुङ्गे पुल निर्माण गरी दुई पालिकाका तीनवटा वडा जोड्ने प्रतिबद्धता जनाएका छन्। साथै, गाउँपालिकाका केन्द्रलाई सहरका रूपमा विकास गर्ने र सबै नागरिकको घरसम्म शहरी सुविधा पुर्याउने योजना पनि उनको छ।
कृषि, भूमि र उद्योगतर्फ रानी–जमरा सिँचाइ आयोजनाको कमाण्ड क्षेत्रभित्र जमिन खण्डीकरण रोक्ने, अधुरा आयोजना सम्पन्न गराउने, कृषि भूमिको कर घटाउन पहल गर्ने तथा केरा र बेतबाँसमा आधारित उद्योग प्रवर्द्धन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। काँडा र कर्णाली नदीमा झोलुङ्गे पुल निर्माण गर्ने योजना पनि उनको कार्यसूचीमा छ।
संस्कृति र पर्यटनतर्फ टीकापुर पार्कलाई हालको १३ विघाबाट विस्तार गरी ८४ विघा क्षेत्रमा फैलाउने, पद्मप्रकाशेश्वर मन्दिरलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय शैवधाम विकास गर्ने तथा थारु धर्म–संस्कृतिसँग जोडिएका क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना न्यौपानेले अघि सारेका छन्।
उनले निर्वाचन क्षेत्रमा स्थायी सचिवालय स्थापना गर्ने र हरेक वर्ष फागुन महिनामा तीनै तहका जनप्रतिनिधि तथा नागरिक अगुवासँग छलफल गरी योजना तर्जुमा गर्ने प्रतिबद्धता पनि गरेका छन्। व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका न्यौपाने ऊर्जा प्रवर्द्धकसमेत हुन्। निर्वाचित भएमा राज्यबाट पाउने सबै सुविधा माध्यमिक तहमा अध्ययनरत विपन्न परिवारका सन्तानको शिक्षामा खर्च गर्ने घोषणा पनि उनले गरेका छन्।
उम्मेदवार न्यौपानेले गत आइतबार पत्रकार सम्मेलन गरी आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरिसकेका छन् ।




