समाज, परिवारको स्वीकार्यता बालविवाह रोक्न बाधक

धनगढी/ समाज र परिवारको स्वीकार्यता बालविवाह न्यूनीकरणमा ठूलो चुनौतीको विषय बनेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।
धनगढीमा मङ्गलबार आयोेजित सुदूरपश्चिममा बालविवाह र यसले शिक्षामा पार्ने प्रभाव सम्वाद कार्यक्रमका सहभागीले यस्तो बताएका हुन । बालविवाह न्यूनीकरण गर्न तल्लोस्तरबाटै सचेतना आवश्यक रहेको उनीहरुको जोड छ ।
धनगढी उपहानगरपालिकाका शिक्षा शाखा प्रमुख घुम्मनसिंह बडायकले बालविवाह न्यूनीकरणका लागि ऐन, कानुन, निर्देशिका जतिसुकै बने पनि जनचेतना नभएसम्म त्यसको प्रभावकारी ढङ्गले कार्यान्वयन हुन नसक्ने बताउनुभयो । “बालविवाह अन्त्यका लागि तल्लो तहबाटै जनचेतना आवश्यक छ”, उनले भने ।
बालविवाह अन्त्यका लागि यसको जरो कारण पत्ता लगाएर त्यहि अनुसार न्यूनीकरणको कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । मूल जरो कारण पत्ता लगाएर कार्यक्रम, अभियान सञ्चालन नगरेसम्म सबैलाई सचेत पार्न नसकिने उनीहरुका भनाइ छ ।
समाज र पारिवारिक वातावरणले पनि बालविवाहलाई मलजल गर्ने गरेको राष्ट्रिय मानव अधिकार आयोग धनगढीका प्रमुख झङ्कर रावलले बताए । कैलालीको चुरे गाउँपालिकामा सामाजिक सञ्जालको दुरुपयोगको कारण बालविवाह मौलाएको उल्लेख गर्दै उनले थपे ,“बालविवाह न्यूनीकरण गर्न प्रदेश र स्थानीय सरकारको ठुलो भूमिका रहेको छ ।”
नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा राखेको छ । तर, बालविवाहले शिक्षामा धेरै प्रभाव पारिरहेको सहभागीले औंल्याएका छन् । सानै उमेरमा विवाह गर्दा केटाकेटी दुवैले विद्यालय छाड्ने, बालबच्चा हुर्काउने जिम्मेवारी थपेपछि पढाइ गर्न नसक्ने जस्ता घट्ना समाजमा बढ्दो रहेको उनीहरु बताउँछन् ।
बालविवाहले केटाकेटीको जीवनमा सामाजिक, आर्थिक रुपले थुप्रै असर पार्ने गरे पनि यसलाई न्यूनीकरण गर्नका लागि पहलकद्मी भूमिका निर्वाह गर्नुको सट्टा जनप्रतिनिधि, मानव अधिकारकर्मीले नै बालविवाहमा गएर भोज पार्टी खाने पनि गर्ने गरेको सहभागीका भनाइ थियो ।
बालविवाह अन्त्यका लागि नीतिगत संरचना धेरै भए पनि कार्यान्वयन नभएको शिक्षा अधिकार अनुगमन समूह नेपालका कृष्णगोविन्द महर्जनले बताए । उहाँले स्थानीय तहका बाल कल्याण अधिकारीहरुले सक्रिय भएर बालविवाह न्यूनीकरणमा धेरै ठुुलो सहयोग पु¥याउन सक्ने उल्लेख गरे ।
शिक्षा अधिकार अनुगमन समूह नेपाल र लू निभा बाल सरोकार समूहले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा धनगढी बाल सञ्जालका अध्यक्ष मातृकाप्रसाद उपाध्यायले सरोकारवाला निकायले आफ्नो जिम्मेवारी इमानदारितापूर्वक निर्वाह नगरेका कारण बालविवाह न्यूनीकरण नभएको बताए।
विद्यार्थी संगीता भट्टले बालबालिका आफै आफ्नो भविष्यप्रति सचेत नभएसम्म भागेर सानै उमेरमा विवाह गर्ने क्रम नरोकिने बताए । उनले बालविवाह रोक्न कानुनको डण्डामात्रै प्रयाप्त नरहेको उल्लेख गर्दै भने,“बालबालिकालाई गुणस्तरीय शिक्षा, सामाजिक सुरक्षाको प्रत्याभूति र मानसिक परामर्श आजको आवश्यकता हो ।”




