१८ मंसिर २०८२, बिहीबार

छाउपडीविरुद्ध प्रथा हटाउन कानुन कार्यान्वयन गरौ





धनगढी /
सुदूरपश्चिम प्रदेश सभामा छाउपडी प्रथाविरुद्धको कानुन प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने आवाज उठेको छ ।
आइतबार बसेको बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरुले छाउपडी प्रथाविरुद्धको ऐन, कानुन प्रभावकारी रुपमा कार्यान्वयन गरी चेलीबेटीको जीउज्यान सुरक्षाको ग्यारेन्टी गर्न प्रदेश सरकारसंग माग गरेका हुन ।


प्रदेश सभा सदस्य जानकी कुँवरले नेपाल सरकारले छाउपडी प्रथाविरुद्धको कानुन २०७४ मै बनाएर यसलाई दण्डनीय अपराधको रुपमा लिए पनि कानुन कार्यान्वयन हुन नसक्दा सुदूरपश्चिममा बर्सेनि महिलाले छाउगोठमा ज्यान गुमाउनु परिरहेकोमा चिन्ता जाहेर गरिन ।
छाउपडी प्रथाविरुद्धको कानुन गम्भीरतापूर्वक कार्यान्वयनमा ध्यान दिन जरुरी छ उनले भनिन । छाउपडी प्रथाले महिलाको ज्यान लिइरहेकाले अब प्रदेश सभा चुप लागेर नबस्ने कुँवरको भनाइ थियो ।


गत असार २७ गते कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित निगालीकी २८ वर्षीया कमला आउजी दमाई छाउपडीमा बसेको बेला सर्पको टोकाइबाट ज्यान गएको थियो । सो घटनापछि छाउपडी उन्मूलनको विषयलाई लिएर प्रदेश सभामा आवाज उठेको हो ।


प्रदेश सभा सदस्य गीतादेवी मालले छाउगोठमा महिलाले ज्यान गुमाइ रहँदा प्रदेश सरकार मौन रहेको आरोप लगाइन । समाजमा भएको कुरीति, कुसंस्कारका कारण महिलाले अकालमै मृत्युवरण गरिरहेकाले महिलाको सुरक्षाको ग्यारेन्टी गर्न उनले पनि सरकारलाई आग्रह गरिन ।


अर्का प्रदेश सभा सदस्य मधुदेवी भारतीले नीति बनाएर छाउपडी प्रथा अन्त्यका लागि अगाडि बढ्न प्रदेश सरकारलाई आग्रह गरिन । भौतिक रुपमा छाउगोठ भत्काएर नहुने भन्दै उनले मनको छाउगोठ भत्काउन जरुरी रहेको धारणा राखिन ।


फरक प्रसंगमा वोल्दै प्रदेश सभा सदस्य खेमादेवी विष्टले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा कार्यान्वयन गर्न प्रदेश सरकारलाई आग्रह गरिन ।


२०७५ मा तत्कालीन प्रदेश सभाको दुई तिहाइ बहुमतले तोकेको राजधानी सार्ने कुरा भइरहेको भन्दै उहाँले राजधानी सार्ने विषय गोदावरीवासीलाई सह्य नहुने उनले बताइन ।


प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले कञ्चनपुरका निर्मला पन्त घटनापछि पाँच गृहमन्त्री, छ प्रहरी नायब महानिरीक्षक फेरिए पनि दोषी पत्ता नलाग्नु दुःखद् रहेको बताएका थिए । उनले दोषी पत्ता लगाएर अविलम्ब कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे ।
लक्ष्मी विकले गठबन्धन सरकारले जनताको जीउ, ज्यानको सुरक्षामा ध्यान नदिएको गुनासो गरिन ।

उनले दार्चुलाको व्यास गाउँपालिकावासीले दैनिक उपभोग्य सामान किन्न भारत जाने क्रममा तुइनबाट खसेर महाकालीमा ज्यान गुमाइरहेका कारण व्यासमा तत्काल उपभोक्ता पसल सञ्चालन गर्न प्रदेश सरकारलाई आग्रह गरिन ।


त्यस्तै, प्रदेश सभा सदस्य धर्मराज पाठकले श्रमिकहरुको सामान ज्याला र उनीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्यलाई प्रदेश सरकारले ध्यान दिनु पर्ने बताए । श्रमको सम्मान हुन नसकिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार