रोलर स्केटिङ टोली काठमाडौ फर्कियो

काठमाडौं/दक्षिण कोरियाको इन्चोन सिटीमा जुलाई १ देखि ३ तारीखसम्म हुने २० औं एसियन रोलर स्केटिङ प्रतियोगिताको तयारीका क्रममा भारतको पन्जाबमा गएको नेपाली महिला राष्ट्रिय रोलर डार्बी टिम भारत काठमाडौ फर्किएको छ ।
सो टोली अप्रिल १८ देखि २८ सम्म १० दिने बन्द प्रशिक्षणमा सहभागी भएको थियो । छ महिनादेखि कोरियामा हुने प्रतियोगिताका लागि नेपालमा तयारी गरिराखेको महिला टोली थप तयारीका लागि भारत गएको हो ।
रोलर डार्बीका प्रमुख प्रशिक्षक दिलीपराज बरालका अनुसार नेपाली महिला रोलर टोलीलाई यति एयरलाइन्सले सहप्रायोजन गरेको छ । नेपालमा रोलर स्केटिङ खेल निकै सम्भावना बोकेको खेल भएकाले यसलाई एसियन च्याम्पियनसिपमा रोलर डार्बीको टिमले नेपाललाई पदक दिलाउन सक्ने गरी तयारी गरिएको विश्वास प्रशिक्षक बरालको छ ।

प्रशिक्षणका क्रममा प्रशिक्षक बराल, सन्दिप भटनागर, इलियन फ्रेन्चले एसियामा स्केट स्पोर्टसको सम्भावना तब प्रवद्र्धन तथा विकासको सम्बन्धमा गहिरो छलफल गराएका थिए ।
सो प्रशिक्षणमा खेलाडीहरु कृपा पन्त, प्रेसिका बोहरा, नयना शाक्य, प्रसुना लामा, आयुष्मा ठकुरी, निमिशा तामाङ, पासाङ याङ्जी शेर्पा, योगिना श्रेष्ठ र सुचिना भाजु सहभागी भएका थिए । सो प्रशिक्षणको टिम व्यवस्थापकमा सन्जु श्रेष्ठ र अफिसियलमा विकास लामा थिए ।
नेपाल स्केट तथा स्केटबोर्डिङ संघका सल्लाहकार तथा प्रशिक्षक दिलिपराज बराल र महासचिव सत्य थापाले पनि भारत गएर नै खेलाडीको आवतजावत लगायतको व्यवस्थापनमा सहयोग गरेका थिए ।
कञ्चनपुरको गड्डाचौकी हुँदै फर्किएको सो टोलीलाई कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख खड्क रावतले स्वागत गरेका थिए । भने काठमाडौ विमानस्थलमा बुधबार साँझ नेपाल स्केट तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले स्वागत गरेका थिए ।
यसअघि भारत जाने क्रममा राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, बोर्ड सदस्य कमलप्रसाद भट्टराई र नेपाल स्केट तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले काठमाडौ विमानस्थल पुगेर बिदाइ गरेका थिए ।




