सहकारी ठगीको आरोप लागेका लामिछाने जेल गए

काठमाडौ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिम्मेवारीमा फर्किएको घोषणा गरेको छ दिन नपुग्दै रवि लामिछाने जेल गएका छन् । उनलाई प्रहरीले शुक्रबार काठमाडौबाट पक्राउ गरेको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार दिएको आदेशअनुसार रवि जेल जानुपर्ने भएको हो ।
यही सोमबार मात्रै पार्टी केन्द्रीय कार्यालय चस्मतीस्थित घण्टीघरमा पत्रकार सम्मेलन गर्दै उनले आफू पार्टीको जिम्मेवारीमा फर्किएको जानकारी गराएका थिए ।
पार्टीको जिम्मेवारीमा फर्किएसँगै उनी केन्द्रीय समिति बैठकमा सहभागी भए । साढे पाँच महिनापछि उनी रास्वपाको सभापतिको जिम्मेवारीमा फर्किएका थिए । त्यसअघि उनले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद फुकुवा गरिदिन भनेका थिए । तर सभामुख घिमिरेले अदालतमा विचाराधीन मुद्दामा आफूले केही गर्न नसक्ने जवाफ दिएका थिए ।
उनले सरकार नैतिक रुपमा असफल भइसकेको बताउदै आएका थिए ।
उनलाई गत कात्तिक २ गते सहकारी ठगी प्रकरणमा पार्टी कार्यालयबाटै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो ।
लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीपत्र प्रहरीले सभामुख घिमिरेलाई पठाएपछि उनी निलम्बनमा परेका थिए । सांसद पदबाट निलम्बनमै रहेको अवस्थामा अब उनी जेल चलान हुने भएका छन् ।
रविलाई काठमाडौं, कास्की, रुपन्देही र चितवनका विभिन्न सहकारीको बचत ठगीमा मुद्दा चलाइएको थियो । ती सबै अदालतले करोडसम्मको धरौटी लिएर उनलाई रिहा गरिदिएका थिए ।
सुरूमा उनलाई जिल्ला अदालत कास्कीबाट जारी पक्राउ पुर्जीका आधारमा समातिएको थियो । लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा मुद्दा चलाइएको थियो ।
तर बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुछिएका उनका साझेदार एवम् पूर्वडीआईजी छविललाई जोशीलाई जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको थियो । जिल्लाको सो आदेशलाई उच्चले सदर गरेर जोशीलाई थुनामै राख्न भनेको छ ।
यसअघि रविलाई कास्की, रुपन्देही र चितवन जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएका थिए । उता छविलाई रुपन्देही जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको थियो ।
यसअघि रूपन्देही जिल्ला अदालतले सुप्रिमको बचत हिनामिना मुद्दामा रविलाई एक करोड धरौटीमा छाडेको थियो ।
सुप्रिम प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
त्यही मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले गोर्खा मिडियाका सञ्चालक एवम् पूर्वडीआइजी जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
सो आदेशविरुद्ध जोशीका छोरा रोचकले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए । सो निवेदनमा अदालतले प्रारम्भिक सुनुवाइ गर्दै कैफियत प्रतिवेदन झिकाउन भनेको थयो ।
सरकारी वकिलले लामिछानेको मुद्दालाई जोशीकोसहित एकैठाउँ राखेर सुनुवाइ गर्न माग गरेका थिए । त्यसपछि इजलासले लामिछानेको कैफियत प्रतिवेदन मागेको थियो ।
सुप्रिम सहकारीमा रवि, छवि र गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित ४२ जनाको संलग्नता थियो । उनीहरूले ५५ करोड अपचलन गरेको मुद्दा चलेको थियो । रवि, छवि र जीबीले १ करोड ९९ लाख ३६ हजार रकम अपचलन गरेको पूरक अभियोगसहितको मुद्दा जिल्ला सरकारी वकिल कार्यालयले चलाएको थियो ।
समान प्रकृतिको मुद्दामा रविलाई धरौटी र छविलाई थुनामा पठाएपछि सरकारी वकिलले रविलाई थुनामै राख्नु पर्ने मासगसहित उच्च अदालतमा निवेदन गरेको थियो । छविलालले पनि धरौटीमा छुट्न मागसहित उच्चमा निवेदन दिएका थिए ।
उक्त मुद्दामा धरौटी लिएपछि साधारण तारेखमा राख्न मागसहित रविले निवदेन दिएका थिए । दुवैको मुद्दा ७३ नम्बर दर्ता भएपछि उच्च अदालतको बुटवल इजालसले एकसाथ हेर्ने आदेश दिएकको थियो ।
उच्च अदालतको आदेशअनुसार थुनामा नराखी मुद्दा लड्नुपर्ने छविको माग, रविलाई थुनामा राख्नुपर्ने सरकारी वकिलको माग र साधारण तारेखमा छाड्नु पर्ने रविको निवेदनलाई एकै ठाउँ राखेर अदालतले आदेश गरेको हो । यो मुद्दामा बिहीबार बहस सकिएपछि शुक्रबार आदेश भएको हो ।
रविले भने मलाई अन्याय भयो
फैसला आए लगत्तै लामिछानेले फेसबुकमा प्रतिक्रिया दिदै आफूमाथि ठुलो अन्याय भएको बताएका छन् ।
उनले न्यायलयका अन्य अन्य ढोका पनि खुलै होलान । न्यायका लागि दुनियाँका सबै ढोका ढक्ढकाउने छु पनि भनेका छन् ।