९ चैत्र २०८१, आईतवार

सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने



सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१ आगामी चैत ७ गते आयोजना हुने भएको छ । छैठौं संस्करणको ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ आगामी चैत ७ गते हुने गरी तयारीमा जुटेको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले बताए ।

‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूलाई आगामी देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्दै आएको छ,’ उनले भने, ‘छैटौं संस्करणलाई थप स्तरीय बनाउनका लागि अहिलेदेखि नै तयारी थालेका छौं । यसपाली खुल्ला मैदानमा अवार्डलाई आयोजनाको तयारी थालेका छौं ।’

छैठौं संस्करणको ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ मार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफटाईम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाईफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी प्रदान गरिनेछ ।

मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्

‘छैठौं सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले साथ दिएको छ । अवार्ड कार्यक्रमलाई हरेक वर्ष प्रबद्र्धन गर्दै आएको सुदुरपश्चिम प्रदेश खेलकुद परिषदले यसपाली पनि मुख्य प्रबद्र्धक भएर साथ दिएको हो ।

मुख्य प्रबद्र्धन सम्बन्धी सम्झौतापत्रमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपकवहादुर सिंह र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन् ।

अवार्डका लागि मुख्य प्रायोजकसहित अन्य सहप्रायोजकहरूको खोजी सुरु गरिएको आयोजकले जनाएको छ । सदस्य सचिव सिंहले सरकारी स्तरबाट हुनुपर्ने कार्यक्रम खेलकुद पत्रकार मञ्चले गरेर खेलाडी र प्रशिक्षकको मनोवल बढाउने काम गरेको बताए । ‘पाँच वर्षदेखि आयोजना भइरहेको अवार्डले खेलाडी र प्रशिक्षकको मनोवल बढाएको छ,’ सिंहले भने, ‘अवार्डमा जोडिन पाउँदा हामी पनि खुसी छौं । हामीसँग कार्यक्रम गर्नका लागि आवश्यक सबै बजेट नभएका कारण सहकार्य गरेर कार्यक्रममा हातेमालो गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार