नितिका अवस्थी अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडका लागि छनोट

क्रिकेटको सहर धनगढीस्थित एसपीए कलेजमा कक्षा ११ मा व्यवस्थापन संकाय अध्ययनरत छात्रा नितिका अवस्थीले नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को राष्ट्रिय चरणमा रजत पदक जित्दै सिंगो सुदूरपश्चिमको गौरव बढाएकी छन् ।
फेब्रुअरी २८ देखि मार्च २ सम्म काठमाडौँमा आयोजित नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैटौँ संस्करण मा देशभरका १०० उत्कृष्ट विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । उनीहरू १४ विभिन्न क्षेत्रीय केन्द्रहरूबाट छनोट भएका थिए, जहाँ १८५ विद्यालय र कलेजका १,०८४ विद्यार्थीले भाग लिएका थिए ।
नितिकाले रजत पदक जित्दै जुलाई ३ देखि ६ सम्म अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने अस्ट्रेलासियन इकोनोमिक्स ओलम्पियाड (अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाड)मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन् ।
नेपाल इकोनोमिक्स ओलम्पियाडका अध्यक्ष अर्जुन सापकोटाले प्रतियोगितामा विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शन प्रति प्रशंसा व्यक्त गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बनाउन सक्ने प्रतिभाहरू तयार भइरहेकामा खुसी व्यक्त गरे ।
धनगढी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनु नै ठुलो अवसर रहेको र यसले भावी पुस्तालाई प्रेरित गर्ने भन्दै एसपीए कलेजका प्राध्यापकहरूले नितिकाको सफलतालाई कलेजका लागि गौरवपूर्ण क्षण भएको भन्दै बधाई दिएका छन् ।
नेपालका उज्ज्वल विद्यार्थीहरू आर्थिक सिद्धान्त, विश्लेषणात्मक क्षमता र समस्या समाधान जस्ता विषयमा दक्षता हासिल गर्दै अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । नितिकाको यो सफलता पनि नेपालको आर्थिक शिक्षामा नयाँ उचाइ स्थापित गर्ने मार्गमा महत्वपूर्ण योगदान हुनेछ ।