३ आश्विन २०८१, बिहीबार

पोषण सुधारका लागि सुदूरपश्चिममा इनफ् अभियानको घोषणा



धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका महिला, बालबालिका, वृद्धवृद्धाका लागि पोषण किट वितरण योजनामा सहयोग गर्न सरोकारवाला निकायलाई अनुरोध गरे ।

वर्डभिजन इन्टरनेशनल नेपालको आयोजनामा आज धनगढीमा भएको पोषण सुधारका लागि इनफ् अभियानको शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री शाहले वर्ल्डभिजनले प्रशंसनीय काम गरेको उल्लेख गर्दै प्रदेश सरकारले आगामी दिनमा पोषण सुधार अभियानमा थप समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

आफूले मुख्यमन्त्रीको रुपमा विगतमा नीति तथा कार्यक्रम बनाउँदा लक्षित वर्ग (महिला, बालबालिका तथा वृद्धवृद्धा) का लागि पोषण किट बनाएर दिने योजना बनाएको स्मरण गर्दै आगामी दिनमा सो योजना कार्यान्वयनका लागि गैरसकारी निकायबाट पनि सहयोग पाउने विश्वास उनले व्यक्त गरे।

राज्यले बनाउने योजना, कार्यक्रममा त्रुटि रहेको स्वीकार गर्दै मुख्यमन्त्री शाहले भने समाज रुपान्तरणका लागि गैरसरकारी निकायको भूमिका महत्वपूर्ण छ । तर तपाईहरूले पनि अझ समन्वय राम्रोसँग गर्नुपर्ने देख्छु । सरकारसँग मिलेर जाँदा लक्ष्यमा पुग्न सजिलो हुने विश्वास मेरो छ।

कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्काले पोषण सुधारका लागि रैथाने बालीको संरक्षण र यसप्रतिको समाजको बुझाइ अझ सकारात्मक बनाउनुपर्ने धारणा राखे।

कोदोलगायतका रैथाने बाली अरुलाई बेचेर चामल खाँदा सभ्य भइन्छ भन्ने मान्यता गलत भएके उल्लेख गर्दै उनले इनफ् अभियान कार्यान्वयनका लागि मन्त्रालयको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए । बाजुरालगायतका कुपोषणका कारण बढी प्रभावित जिल्लामा पनि कार्यक्रम सञ्चालन गर्न उनले वर्ल्डभिजनसँग अनुरोध गरे ।

सुदूरपश्चम प्रदेशका कृषिमन्त्री वीरबहादुर थापाले प्रदेशभरमा रहेको हानिकारक प्रथा, परम्पराको अन्त्य र पोषणको अवस्थामा सुधारका लागि सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालयबीच आगामी दिनमा अझ धेरै समन्वय गर्ने बताए।

कुपोषणका कारण धेरै बालबालिका मृत्युको जोखिममा रहेको बताउँदै उनले सरकारी र गैरसरकारी निकाय आरोपप्रत्यारोपमा उत्रेर समय खेर फाल्नुभन्दा नदोहरिने गरी मिलेर काम गर्दा सकारात्मक प्रभाव देखिने धारणा राखे ।

इनफ् अभियानको कार्यान्वयनमा आफ्नो मन्त्रालयको तर्फबाट सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे ।

आन्तरिक मामिला मन्त्री हिरा सार्कीले इनफ अभियान घोषणा हुनु प्रदेशका लागि खुसीको कुरा रहेको टिप्पणी गर्दै यसलाई कार्यान्वयनका लागि मन्त्रालयको तर्फबाट भरपुर सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कृषि विकास निर्देशनालय दिपायलका कृषि निर्देशक खगेन्द्रप्रसाद शर्मा, स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत धर्मानन्द गिरीले पोषणको अवस्था, सरकारको योजना र सुधारका लागि चाल्नुपर्ने कदमको बारेमा प्रस्तुती राखे ।

वर्ल्डभिजन इन्टरनेशनलका एडभोकेसी म्यानेजर श्याम घिमिरेले वर्ल्डभिजनले नेपालमा सञ्चालन गरेको कार्यक्रम, प्रभाव र आगामी योजना तथा इनफ अभियानका बारेमा जानकारी गराए।

स्वास्थ्यका लागि पोषणको महत्व, समाजमा रहेका भ्रम र स्वास्थ्योपचारको आवश्यकताका बारेमा नाटक पनि कार्यक्रममा देखाइएको थियो । सुदूरपश्चिम क्षेत्रमा पाइने रैथाने बाली, परिकार पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार