कर्णालीमा बाढीले १० मिटर नाघ्यो, महाकालीको बहाव पनि बढदै

टीकापुर/ कर्णाली नदीमा बाढीको सतह १० मिटर माथि उक्लेको छ । आइतबार साँझ ६ः५० बजे १० मिटर १ सेन्टिमिटर पुगेको छ । कर्णाली नदीमा १० मिटरलाई शतर्कताको तह र १० मिटर ८० सेन्टिमिटरलाई खतरको तह मानिन्छ ।
गेज रिडर पार्वती गुरुङले विहान साढे सात मिटर रहेको सतह दिनभरमा बढेर १० मिटर नाघेको हो । बाढीको सतह बढ्दो क्रममा छ ।
टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले तल्लो तटका मानिसहरुलाई सचेत गराउने सन्देश पठाउन थालिएको जानकारी दिइन । उनका अनुसार पथरैया नदीमा आएको बाढीले वडा नम्बर ६ का पर्सेनी, भर्तापुर, भगवानपुरका ६५ घर डुवानमा परेकाले ती घरका मानिसलाई उद्धार गरी उच्चा घरमा सारिएको छ ।

चिसापानीमा बढेको बाढी टीकापुर पुग्न साढे तीन घण्टा जति लाग्छ । चिसापानीको बाढी राति १० बजेपछि टीकापुर पुग्नेछ । कर्णाली नदी किनारमा बनेको पुरानो तटबन्ध भत्किएमा बाढी बस्तिमा पसेर धनजनको क्षति हुनसक्ने पूर्वानुमान गरिएको छ ।
कर्णालीमा बाढी बढेमा टीकापुर नगरपालिका वडा नम्बर ५, ७ र ८ प्रभावित हुन्छन् । वडानम्बर २ को विजयनगर, वडा नम्बर ५ का शाहीपुर, सिम्रेनी कर्मीडाँडा, वडा नम्बर ७ को महादेव टोल, वडा नम्बर ८ को पूरै वडालाई यस वर्ष बाढीले क्षति पु¥याउन सक्ने जोखिम क्षेत्रका रुपमा पहिचान गरिएको छ ।
महाकाली बेसिन अत्तरियाका प्रमुख इ. सञ्जयकुमार साहले दिउँसो ४ः ३० सम्म कर्णाली नदीको पानीको तह ९.३६ मिटर पानी पुगेको बताए । उनले महाकाली नदीमा पनि पानीको तह खतरा उन्मुख रहेको बताए ।
सुदूरपश्चिममा कैलालीका मोहना, कांन्द्रा, पथरिया र डोटीको ठूलीगाड क्षेत्र पनि जोखिममा रहेको इ. साहले बताए । दिउँसोसम्ममा कैलालीको गर्वा दरवारमा २४ घण्टा २८५.८ मिलिमिटर, दोधारमा २२४.४, शान्तिपुर बेलौरीमा १७९ , धनगढी १२१. ४ मिलिमिटर पानी परेको बताए ।
