४ श्रावण २०८१, शुक्रबार

मुख्यमन्त्री सोडारीलाई राजीनामा गर्न एमाले-कांग्रेसको माग




धनगढी/ सत्ता समीकरण फेरिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न माग गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दलले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अल्पमतमा परिसकेका कारण राजीनामा दिएर नयाँ सरकार गठनका लगि विस्तार गर्न माग गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले कांग्रेस यसअघिदेखि नै विपक्षमा रहेको र एमालेले समेत समर्थन फिर्ता लिइसकेकाले वर्तमान सरकार अल्पमतमा परेकोले मुख्यमन्त्री सोडारीले नैतिक आधार गुमाइसकेको उल्लेख गरेका छन् ।

उनीहरुले नैतिक बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकारवाही बाहेक अन्य कुनै कार्य सम्पादन नगर्न तथा नगराउन समेत आग्रह गरेका छन् । केन्द्रमा कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएपछि २० असारमा सुदू्रपश्चिममा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परिसकेका सोडारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिदासम्म पर्खिने बताएका छन् । सोडारी अल्पमतमा परेपछि प्रदेश सभामा विश्वासको मत फेस गर्ने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार