१९ आश्विन २०८१, शनिबार

ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेर मनाए समाजसेवी ठगुन्नाले जन्मदिन




युरोप/ ब्लड क्यान्सर रोगका पीडित सुरज लौडारीलाई आर्थिक सहयोग गरेर समाजसेवी दिपक ठगुन्नाले आफ्नो जन्मदिन मनाएका छन् । तीन महिनादेखि माल्टाको माटर देइ अस्पतालमा भर्ना भएर उपचार गराई रहेका लौडारीलाई अस्पतालमै भेटि आर्थिक सहयोग गरेर ठगुन्नाले जन्मदिन मनाएका हुन् ।

रोजगारीको शिलशिलामा विगत छ वर्षदेखि माल्टामा रहँदै आएका लौडारी अकस्मात बिरामी भएपछि स्वास्थ्य जाँचगर्दा ब्लड क्यान्सर देखिएको थियो । ब्लड क्यान्सर देखिएपछि ३ महिनादेखि अस्पतालमै राखेर लौडारीको उपचार भईरहेको छ ।

ब्यास नगरपालिका- १ दमौलीका सुरज लौडारीको अस्पतालमै भर्ना गरि ब्लड क्यान्सर रोगको उपचार भईरहेको र थप उपचारको लागि युके लिनुपर्ने थाहा पाएपछि आफ्नो जन्मदिन मनाउँदा हुनेखर्च लौडारीको स्वास्थ्य उपचारका लागि सहयोग गरेको ठगुन्नाले बताए ।

सुदूरपश्चिम सेवा समाज माल्टाका अध्यक्ष समेत रहेका ठगुन्ना सामाजिक र मानवीय कार्यमा अग्रसर हुँदै आएका छन् । समाजमा समस्यामा परेमा दिन दुःखी र असहायलाई आफ्नो कमाईको केही हिस्सा सहयोग गर्दै आएका ठुगन्नाले यस पटक आफ्नो जन्मदिन ब्लड क्यान्सर रोगका पीडित सुरज लौडारीलाई सहयोग गरेर मनाउने सोच बनाए । बिरामीलाई अस्पतालमै भेटेर सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको ठगुन्ना बताउछन् ।

उनले भने,“ तीन महिना देखि अस्पतालमा भर्ना भएका लौडारीको मनोबल निकै बलियो देखें । भोली कतिबेला कसलाई जीवनमा कस्तो परिस्थिति आउँछ केही थाहा छैन् । त्यसैले एकले अर्कालाई सहयोग गरौं । तत्काल थप उपचारका लागि खर्च धेरै लाग्ने भएकोले यतिबेला लौडारीलाई पैसाको निकै जरुरत परेकोले सकेजति आर्थिक सहयोग गर्न सबैलाई अनुरोध गर्दछु ।”

छ वर्षदेखि माल्टामा रहँदै आएका ठगुन्नाले सुदूरपश्चिम सेवा समाज माल्टाको संस्थापक अध्यक्ष भएर संस्थालाई सक्रिय रुपमा संचालन गर्दै आएका छन् । संस्थाको कुशल नेतृत्व गरेर नेपालमा दैविक प्रकोप लगात अन्य विपत्ति र समस्यामा परेकाहरुलाई संस्था मार्फत आर्थिक सहयोग गर्दै आएकाछन् ।

समाजसेवी एवम् सुदूरपश्चिम सेवा समाज माल्टाका कोषाध्यक्ष दिनेश नागरीले दिपक ठगुन्नाको मानवीय व्यवहारबाट आफू प्रभावित भएको बताउँछन् । समाजसेवाका काममा ठगुन्ना सर्धै अगाडी सर्ने गरेको नागरीले बताए ।

उनले भने, “ ब्लड क्यान्सर रोगका पीडित सुरज लौडारीलाई आर्थिक सहयोग गरि दिपक सरले आफ्नो जन्मदिन मनाउनु भयो । यसबाट पुष्टि हुन्छ उहाँको समाजसेवी भावना कति रहेछ भन्ने ।” लौडारीको उपचारका लागि सहयोग गर्न उनले पनि सबैलाई अनुरोध गरेकाछन् ।

अस्पतालमै भेटेर स्वास्थ्य लाभको कामना गरि मेरो उपचारका लागि आर्थिक सहगोग गरि आफ्नो जन्मदिन मनाउनु भएकोमा ठगुन्नालाई शुभकामना र धन्यवाद दिदै आफ्नो आत्मबल बढेको लौडारीले बताए । सुरज लौडारीको उपचारको लागि ं ३५६७७७३६००९ उनकै मोबाइल नम्बरमा सम्पर्क गरी सहयोग गर्न सकिने ठगुन्ना बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार