१० श्रावण २०८१, बिहीबार

मुख्यमन्त्रीले भने – गोदावरी राजधानी बनाउछौ, बयलापाटा अस्पताल सञ्चालन हुन्छ



धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बयालपाटा अस्पताललाई कसरी सञ्चालन गर्ने भन्नेमा छलफल गर्ने बताएका छन् । उनले बयलपाटा अस्पतालमा बजेट विनियोजन गर्न स्थायी सरकार तयार नभएको पनि संकेत गरे ।

बिहीबारको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदै उनले गोदावरीलाई प्रदेशको राजधानी बनाउने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयन गर्ने बताउदै त्यसवरका धार्मिक क्षेत्रको विकासका लागि प्रयास गरिने बताए ।

बैठकमा केही प्रदेश सभा सदस्यले बजेटमा विचौलियाहरु हावी हुन थालेको बताएपछि उनले विचौलिया दावी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । त्यस्तो कमजोरी भेटिए कमजोरी गर्नेलाई कार्वाही गर्ने उनले बताए ।

मुख्यमन्त्री सोडारीले कञ्चनपुरको पुर्नवास (आनन्दबजार) मा शहिद भएका गोविन्द गौतम नामबाट पनि केही कार्यक्रम सञ्चालन गर्ने व्यवस्था बजेटमा मिलाउने बताए । उनले बजेट ल्याउदा सत्ता र प्रतिपक्ष दुबैसित छलफल गर्ने पनि बताए ।

यसअघि भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सत्तापक्षका नेकपा (एमाले) का प्रदेश सभा सदस्य धर्मराज पाठकले नीति तथा कार्यक्रममा दलित, थारु लगायतका पछाडि परेका वर्गलाई समेटेको बताए । उनले नीजि क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अनुसार कृषि उत्पादन बढाउने गरेर धान उद्योग बनाउने गरेर बजेटमा व्यवस्था गर्नुपर्ने बताए ।

सत्तापक्ष नेकपा (माओवादी केन्द्र) का डोटीबाट निर्वाचित प्रदेश सभा सदस्य शिवसिंह ओलीले प्रदेश आयोजना बैंक, विषयगत, क्षेत्रगत गौरवका आयोजना बनाउने कुरा पनि सकरात्मक भएको उनले बताए ।

यस्तै गरेर सत्तापक्ष नेकपा (एकीकृत समाजवादी) का बाजुराबाट निर्वाचित प्रदेश सभा सदस्य नरेशबहादुर शाहीले नीति तथा कार्यक्रमले धार्मिक पर्यायर्यटन, सम्भावित पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिने कुरा सकरात्मक भएको बताए । उनले लक्ष्य अनुसार नै काम गरेर हिड्नु पर्ने बताउदै सङ्घीय सरकारसंग पनि एकताबद्ध भएर सुदूरपश्चिमका लागि ठुला योजना माग्नु पर्ने बताए ।

सत्तापक्ष नेकपा (माओवादी केन्द्र) कैलालीबाट निर्वाचित रमेशसिंह धामीले प्रदेश सरकारका संरचना नौ वटै जिल्लामा बनाउनु पर्ने, पर्यटन क्षेत्रको विकास र सेती प्रादेशिक अस्पताललाई दुई सय शप्याको बनाउने गरेर बजेट आउनु पर्ने माग गरे । सत्तापक्ष एमालेका डोटीबाट निर्वाचित चक्रबहादुर मल्लले दस्तावेजलाई जनताले पत्याउन कठिन हुने बताउदै व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबाट निर्वाचित अछामका प्रदेश सभा सदस्य मेघराज खड्काले सुदूरपश्चिमका सम्मानीत व्यक्तीका नाममा आएका कार्यक्रम ठिक छन् त्यसमा मेरो समर्थन छ यो लागू हुनुपर्छ भने । उनले स्रोत कसरी जुटाउने हो त्यसमा ध्यान दिनुपर्ने बताए ।

उनले मन्त्रालयमा मन्त्री नहुँदा बजेट ठिक आउछ कि आउन्न भन्नेमा पनि आशंका व्यक्त गरे । प्रदेश सभा सदस्य खड्काले बयालपाटा अस्पतालमा उचित बजेट विनियोजन गर्न पनि आग्रह गरे ।

प्रतिपक्षी दल राप्रपाका खेमादेवी विष्टले विगतमा अत्तरियामा मोनोरोल बनाउने भनियो, चिडियाखानाका कुरा कार्यान्वयन नभएको बताउदै अहिलेको सरकारले पनि नीति तथा कार्यक्रलाई कार्यान्वयनमा ध्यान दिनु पर्ने बताए । नेपाली कांग्रेसका जुना दानीले नीति कार्यक्रमले जनतामा उत्साह थपेको नपाएको बताउदै कार्यान्वयनमा आशंका गरे ।

नीति कार्यक्रममाथिको छलफलमा एमालेका सन्तोष शर्मा थापा, वीरबहादुर थापा, माओवादीका लक्ष्मीदेवी विक, गीतादेवी माल लगायतले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार