१५ बैशाख २०८१, शनिबार

उन्मुक्तीका पाँच जना सरकार टिकाउन लाग्ने, रहलान त मुख्यमन्त्री शाह



धनगढी / नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेशसभा सदस्यले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेका छन् ।

आइतबार प्रदेशसभास्थित संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बहुमत पाँच जना प्रदेशसभा सदस्यले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

बैठकमा नाउपाका कैलाश चौधरी र टीका थापा सहभागी थिएनन् । उनीहरू बाहेक सरकारमा सहभागी राज्यमन्त्रीसहित पाँच जना मन्त्रीको बैठकमा थिए ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीले अहिलेको सरकारलाई नै समर्थन कायम राख्ने र चाडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताए ।

बैठकमा सहभागी नभएका प्रदेशसभा सदस्यहरूलाई समेत सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको दाबी गरे । केन्द्रमा नयाँ गठबन्धनमा सामेल भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिएका बेला प्रदेशमा छुट्टै समीकरण बनाएर नयाँ सन्देश खोजिएको उनी बताउँछन् ।

नाउपाले मुख्यमन्त्रीलाई समर्थन कायमै रखेपनि उनीसँग कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ जना मात्र पुग्छन् । राप्रपाकि खेमादेवी बिष्ट र स्वतन्त्र सांसद डा।ताराप्रसाद जोशीले समर्थन गरे मात्र शाहलाई आवश्यक पर्ने बहुमत सांसद २७ पुग्छन् । अर्कोतिर नाउपाका टीका थापा र कैलाश चौधरीले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने बताइएको छ ।
संघमा राजनीतिक समीकरण फेरिएसँगै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादील पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका थिए ।

नाउपाले समर्थन फिर्ता नलिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुगाउने प्रयास अन्तरगत उक्त पार्टीबाट राज्यमन्त्रीसहित चार जनालाई मन्त्री बनाएका थिए ।

चार जना मन्त्री थपेपनि उनलाई राप्रपा र स्वतन्त्र सांसदले समर्थन नगरेका कारण अहिले २५ जना सांसद मात्र उनको पक्षमा छन् ।

नाउपामा सरकार विस्तारको विषयलाई लिएर संस्थापक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद भएको थियो ।

श्रेष्ठले सरकारबाट तत्काल फिर्ता हुन निर्देशन दिएपनि चौधरीले समर्थन कायमै रहेको बताएका थिए ।

विवादकैबीच नाउपाका बहुमत संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका बेला अध्यक्ष श्रेष्ठले भने ह्वीप जारी गर्दै विश्वासको मत दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार