१६ बैशाख २०८१, आईतवार

महोत्सवले कला संस्कृतिको जगेर्ना गर्छ : मन्त्री देउवा




धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले विभिन्न ठाउँमा आयोजना हुने महोत्सवले स्थानीय कला संस्कृतिको जगेर्ना गरिरहेको बताएका छन् ।

बिहिवार कैलालीको भजनीमा आयोजित महोत्सवको उद्घाटन गर्दै मन्त्री देउवाले देशभर विभिन्न ठाउँमा आयोजना भइरहेका महोत्सवले एकातिर कला र संस्कृतिको जगेर्ना हुन्छ भने अर्कोतिर आर्थिक क्रियाकलाप बढाइरहने भएकोले यस्ता महोत्सवहरुको ठूलो महत्व रहेको बताए ।

उनले कैलालीमा भजनी क्षेत्रको आफ्नै विशेषता रहेको बताउदै भजनी नगरको विकासका लागि प्रदेश सरकार प्रतिबद्द रहेको बताए । मन्त्री देउवाले अहिलेको युग भनेको विकासको युग रहेकाले जनताले विकास मात्र चाहेकोले सरकारले त्यसैलाई प्राथमिकता दिएर काम गरिरहेको उल्लेख गरे ।

मन्त्री देउवाले विकासका काम अघि बढाउन सबै पक्षको सुझाव र सहयोगको अपेक्षा गरेको पनि बताए । भजनी नगरपालिकाको खेलमैदानमा आयोजित महोत्सव फागुन ८ गतेसम्म संचालन हुने आयोजक भजनी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमराज जोशीले जानकारी दिए ।

आयोजकले प्रमुख अतिथि एवम् भौतिक पूर्वाधार विकासमन्त्री देउवालाई भजनी क्षेत्रसंग सम्वन्धित विभिन्न तीन सुत्रिय मागहरु समेत पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार