२० बैशाख २०८१, बिहीबार

डेउडा आइडलको पूर्वसन्ध्यामा धनगढीमा डेउडा साँझ हुने



धनगढी/ काली कर्णालीका कुना कन्दरामा लुकेका लोक गायन क्षेत्रका प्रतिभाको खोजी गर्ने उद्देश्यले हुन गइरहेको डेउडा आइडलको पूर्व सन्ध्यामा धनगढीमा माघ १० गते डेउडा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।

प्रदेश तथा स्थानीय तहका सबै जनप्रतिनिधिलगायत स्थानीयहरुको सहभागितामा धनगढीको सोैंराई बैकुटमा विशेष कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुखलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहनेछ ।

कार्यक्रममा देउडाका स्थापित राष्ट्रिय कलाकार नरेन्द्रराज रेग्मी, महेश औजी, सौगात ओझालगायत अन्य स्थानीय कलाकारको विशेष प्रस्तुती रहने आयोजक देउडा सास्कृतिक मञ्चले जानकारी दिएको छ । कार्यक्रम दिउँसो २ः३० बजे सुरु हुनेछ ।

फागुनको पहिलो हप्ताबाट शुरु हुने डेउडा आइडल २०८० मा सुदूर र कर्णाली प्रदेशमा गायन प्रतिभा भएका करीब २ हजारभन्दा बढी व्यक्तिहरु प्रत्यक्ष जोडिने अपेक्षा लिइएको आयोजक संस्था देउडा सांस्कृतिक मञ्चका अध्यक्ष महेश औजीले बताए । ती मध्ये २ सयले प्रदेशतहको मञ्चमा पहुँच पाउनेछन् ।

सेमिफाइनल र फाइनल चरणको छनौटमा पर्ने सहभागीले राष्ट्रियस्तरको मञ्च मात्रै प्राप्त गर्ने छैनन गीत, संगीतको भविश्य कोर्ने बाटोसमेत तय गर्नेछन् । नेपाल मात्र नभई विश्वभर छरिएर रहेका डेउडा संस्कृतिलाई मन पराउने सबैलाई यसले समेटिने हुँदा आफूलाई डेउडा भाका गाउन मन लागेका व्यक्तिहरूलाई सजिलै डेउडा आइडलको मञ्चमा स्थान दिइनेछ ।

लोक डेउडा गीतको सम्बर्दनका लागि अर्थात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा डेउडा गीतको पहिचान स्थापित गर्न एक सशक्त उपायका रुपमा पहिलो डेउडा आइडल गर्न लागिएको हो । विधागत रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गरी सुदूरपश्चिमेली गीत, सङ्गीत, कला संस्कृतिको पहिचान र विस्तारका लागि डेउडा आइडल महत्वपूर्ण कडी बन्ने अध्यक्ष औंजीले विश्वास व्यक्त गरे ।

हरेक क्षेत्रको साथ समर्थन र सहयोको अपिल गर्दै डेउडा आइडल कार्यक्रम २०८० मा जोडिन आयोजक सस्था देउडा सास्कृतिक मञ्चले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार