१५ बैशाख २०८१, शनिबार

प्रदेश सभा दिवसमा वक्तृत्वकलाका प्रतियोगीलाई पुरस्कार



शारदा माविकी अनुषा उपाध्याय

धनगढी/ सुदूरपश्चिम प्रदेश सभा दिवसका अवसरमा शनिबार आयोजित नेपालमा लोकतान्त्रिक गणतन्त्रको वर्तमान अवस्था विषयक वक्तृत्वकला प्रतियोगितामा विजयी विद्यार्थी पुरस्कृत भएका छन् ।

उनीहरुलाई आइतबार प्रदेश सभामा आयोजित प्रदेश सभा दिवसमा प्रदेश प्रमुख देवराज जोशीले पुरुस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगितामा शारदा माविकी कक्षा ८ का अनुषा उपाध्याय पहिलो , पञ्चोदय माविकी कक्षा ९ का वरखा चौधरी दोस्रो, धनगढी नमुना माविकी कक्षा ११ का शर्मिला धानुक तेस्रो, फुलवारी माविका सुशान्त खतिवडा र राष्ट्रिय माविका सरिता महरा चौथो भए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमश १५ हजार, १० हजार, पाँच हजार र तीन/तीन हजार पुरस्कार दिइएको थियो ।

पञ्चोदय माविकी वरखा चौधरी


जनचाहना अनुसार काम भएन भन्दै स्कुले विद्यार्थी आक्रोशित
शनिबार भएको प्रतियोगितामा उनीहरुले मुलुकमा ठूला परिवर्तन भए पनि जनचाहना अनुसार काम नभएको भन्दै आक्रोश पोखेका थिए ।

सुदूरपश्चिम प्रदेश सभा दिवसका अवसरमा शनिबार आयोजित नेपालमा लोकतान्त्रिक गणतन्त्रको वर्तमान अवस्था विषयक वक्तृत्वकला प्रतियोगितामा बोल्दै अधिंकाश विद्यार्थीले सङ्घ, प्रदेश र स्थानीयतहका सरकारले आफ्नो काम गर्ने शैली परिवर्तन गर्नुपर्ने बताएका हुन ।

त्रिनगर मावि धनगढीमा कक्षा ११ मा अध्ययनरत उषाकिरण ज्योतीले तीन तहका सरकारले मनमर्जीरुपमा काम गरिरहेका बताउदै निर्मला पन्तलाई बलत्कार गरेर हत्या गर्नेको पहिचान नहुनु दुःखद भएको बताइन ।

शारदा माविमा कक्षा ८ मा अध्ययनरत अनुषा उपाध्यायले संविधान, ऐन, कानुन बने पनि युवा विदेश जान वाध्य हुनु, विभिन्न खालका अपराधीहरुले शक्तिका आधारमा जेलबाट छुटकारा पाउने अवस्था आउनु ठिक काम होइन भनिन ।
पहिले एक श्रीपेच भएका थिए अहिले सयौं भए जनताले आफू सुरक्षित भएको महशुस नै गर्न पाएनन् पञ्चोदय माविका विद्यार्थी वरखा चौधरीले गुनासो गरिन ।

विभिन्न विद्यालयका १५ जना विद्यार्थीले भाग लिएको प्रतियोगितामा अधिकांश विद्यार्थीले लोकतान्त्रिक गणतन्त्र भन्दा सुन्दर व्यवस्था अर्को नरहेको तर शासकहरुले काम गर्ने शैली सुधार गर्नुपर्ने बताएका थिए ।

धनगढी माविका कक्षा ११ कि छात्रा शर्मिला धानुकले लोकतान्त्रिक गणतन्त्रमा जनताका छोराछोरीले शासन गर्न पाउनु उपलव्धी भएको बताउदै तर भ्रष्टाचार अन्त्य र रोजगारीमा ध्यान दिनु पर्ने बताइन ।

सो अवसरमा प्रदेश सभाका सचिज देवबहादुर बोगटीले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । प्रदेश सभाका उपसचिव तेजप्रकाश जोशीले विद्यार्थीहरुमा देश बनाउनुपर्छ भन्ने छटपटी रहेकोमा खुसी व्यक्त गरे । उनले नेपालका मुख्य सरकारी क्षेत्र सामुदायिक विद्यालय पढेकाले नै सम्हालेको बताउदै अहिलेका विद्यार्थीले पनि देश सम्हाल्ने गरेर आफ्नो क्षमता अभिबृद्धी गर्नुपर्ने बताए ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशीले सामुदायिक विद्यालयका विद्यार्थीको तार्किक शक्ति अन्य विद्यालयका विद्यार्थीका भन्दा उच्च रहेको बताउदै प्रज्ञा प्रतिष्ठानले पनि यस्ता प्रतियोगिता आयोजना गर्ने सोच बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार