२१ भाद्र २०८१, शुक्रबार

जनताको साथ लिएर चिसापानी मंगलसेन सडकमा पर्ने रुख काट्छु : पूर्व सांसद रावल




काठमाडौ/ नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कैलाली क्षेत्र नम्बर २ का पूर्व सांसद झपट रावलले कैलालीको पर्यटकीयस्थल कर्णाली चिसापानीदेखि सुर्खेत र अछाम जोड्ने सडकका रुख सर्वसाधारण लिएर काट्ने बताएका छन् ।

नेपाल सरकार मन्त्रीपरिषदको निर्णय र निर्वाचन क्षेत्र रणनैतिक सडक निर्माण तथा संचालन मापदण्ड २०७७ बमोजिम कैलालीको “ चिसापानी ( कुइने सडक खण्ड ” रुख कटान नहुँदा निर्माण हुन ढिलाइ भएकोमा आपत्ति जनाउदै पूर्व सांसद रावलले सरकारले बेवास्ता गरे आफ्नो नेतृत्वमा एक घर, एक व्यक्ती र एक बञ्चरो लिएर जनताले रुख काटने बताए ।

“ चिसापानी – मंगलसेन ” सडक अन्तरगतको “ चिसापानी- कुइने सडक खण्ड ” मा ४७२ रुख रहेका छन् । सो सडकको स्तरोन्नतिको लागि सिफारिस गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राष्ट्रिय प्राथमिकता प्राप्त ( पी १ ) योजनाको रुपमा सो सडक अघि बढाउन खोजिएको थियो ।

सडक डिभिजन महेन्द्रनगरबाट निर्माण व्यावसायी दिब्याज्योती शाही जेभीसंग २०७९ साउन ३ मा ठेक्का सम्झौता गरेर सो सडक कार्यान्वयन भइरहेको अवस्थामा छ पूर्व सांसद रावलले भने सो सडक खण्ड स्तरोन्नतिको लागि स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनुसार हटाउनु पर्ने विभिन्न प्रजातिका ४७२ वटा रुखहरु र ८.९२ हेक्टर जग्गा भोगाधिकारका लागि भौतिक मन्त्रालयले वन तथा वातावरण तीनपटक पत्राचार गरिसकेको छ तर रुख काट्ने विषयमा कुनै निर्णय भएको छैन ।

वन तथा भू-संरक्षण विभागबाट समेत विस्तृत अध्ययन भइ सिफारिस साथ पठाइएको फाइललाई अगाडि नबढाई विभिन्न कारण देखाई प्रक्रिया लम्ब्याउने काम गरेको देखिन्छ नेता रावलले भने प्रक्रियागत ढिलाइले गर्दा एकातिर त्यस क्षेत्रका जनताहरु सुरक्षित सडक प्रयोग गर्न पाउनु पर्ने अधिकारबाट बन्चित भएका छन् भने अर्कोतर्फ सरकारको काम गर्ने शैलीप्रति जनमानसमा नकारात्मक भावना बढ्दै गएको देखिन्छ , त्यसैले “ चिसापानी – कुइने सडक खण्ड ” निर्माण कार्य यथाशीघ्र अगाडि बढाउन जरुरी छ ।

जनताको भावना अनुसार आफूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन मन्त्रालयमा पटकपटक ज्ञापन पत्र बुझाएको छु तर सुनाइ भएन त्यसैले चाँडै आफूले जनताको सहयोगमा रुख काट्ने तयारी गरेको छु पूर्व सांसद रावलले भने रुख काटेका कारण जेल जानु परे पनि म जान तयार छु ।

सो सडक अछाम पुग्ने अत्यन्तै छोटो सडक हो , सोही कुरालाई मध्यनजर गर्दै निर्वाचन क्षेत्र रणनैतिक सडक अन्तर्गत “ चिसापानी – कुइने सडक खण्ड ” स्तरोन्नतिका लागि म संसद हुँदा पहल गरे रावलले भने चिसापानी – कुइने सडक खण्ड सोल्टा – खिमडी हुदै राष्ट्रिय गौरवको सेती लोकमार्गसंग पनि जोडिन्छ ।

नेता रावलले व्यक्तीगत र निहित व्यक्तीलाई लाभ हुने काम भएको भए सो यस्ता काम सम्पन्न भइसक्थे तर जनताको हीतको निहित व्यक्तीलाई लाभ नहुने भएकोले अहिलेसम्म रुख नकाटेर सडक सञ्चालन हुन नदिइएको आरोप लगाए ।

उनले राष्ट्रिय गौरवको सेती लोकमार्ग अन्तर्गत टीकापुर – बर्दगोरिया – खिमडी सडक खण्ड, पनि आफू सांसद हुँदा शुरुवात गराएको बताउदै त्यसको काम समेत अगाडि बढाउन माग गरे । पूर्व सांसद रावलले अलपत्र परेका लम्की – टीकापुरसडक र डुडेझारी – टीकापुर सडकको निर्माण कार्य पनि यथाशिघ्र अगाडि बढाउन सम्बन्धित निकायमा दवाव दिइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार