१६ बैशाख २०८१, आईतवार

सुदूरपश्चिमको विकासमा गम्भीर छु : प्रधानमन्त्री



धनगढी/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमले उठाएको विकासको सवालप्रति आफू गम्भीर रहेको बताएका छन् ।
प्रधानमन्त्रीले शुक्रबार धनगढीमा सुदूरपश्चिम महोत्सव एवम् व्यापार मेलाको १७ औं संस्करणको उद्घाटन गर्दे सुदूरपश्चिममात्र नभइ समग्र नेपालको आर्थिक विकासको गेम चेन्जरको रुपमा लिइएको कर्णाली–चिसापानी जलविद्युत परियोजना क्याबिनेटबाट पास भइसकेको बताए ।

एडीबीको आर्थिक सहयोगमा यो परियोजना अगाडि बढ्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । यसैगरी, खप्तड क्षेत्रलाई साँस्कृतिक र प्राकृतिक पर्यावरणीय केन्द्रको रुपमा निर्माण गर्नका लागि नेपाल सरकारले पहल गरिरहेको बताए ।

सुदूरपश्चिमसहित समग्र मुलुककै विकास गर्ने पञ्चेश्वर जलविद्युत आयोजनाको डिपिआरलाई अन्तिम रुप दिइएको पनि उनले बताए । यसलाई अगाडि बढाउने सहमति भइसकेको उनको भनाइ थियो ।

यसैगरी, फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको योजनाको रुपमा अगाडि बढाउनका लागि छिट्टै क्याबिनेटबाट निर्णयसमेत गरिने प्रधानमन्त्रीले प्रतिवद्धता गरे । उनले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको रुपमा अगाडि बढाउनका लागि विधेयक बन्ने क्रममा रहेको उल्लेख गरे ।
नेपालको अर्थतन्त्र लय समात्ने बाटोतिर अग्रसर
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको अर्थतन्त्र लय समात्ने बाटोतिर अग्रसर भएको दावी गरेका छन् ।

महोत्सवको उद्य्घाटनकै क्रममा बोल्दै उनले अर्थतन्त्रलाई लयमा ल्याउने प्रक्रिया सुरु भएको दावी गरेका हुन । बैङ्कको व्याजदर घटाउने गरेर नेपाल राष्ट्र बैङ्कको बोर्डले गरेको निर्णयले पनि मानिसको धेरै आशङ्कालाई हटाएको प्रधानमन्त्रीको दावी छ ।

अर्थतन्त्र सुधारतिर गइरहेको छ, थोरैमात्रै मेहनेत गरेमा नेपाली अर्थतन्त्रले लय समात्ने छ उनले भने बोर्डले गरेको निर्णय पर्याप्त नरहे पनि अर्थतन्त्रमा भएको जटिलतालाई सहजीकरण गर्ने र अर्थतन्त्रको सुधारमा महत्वपूर्ण भूमिका खेल्ने छ ।

प्रधानमन्त्री अबको केही महिनाभित्र अर्थतन्त्रलाई लयमा ल्याउन सकेमा आफ्नो लागि यो भन्दा खुसी र गर्वको कुरा अरु केही पनि नहुने उल्लेख गरे ।

गतवर्ष राजस्व, विप्रेषण र विदेशी मुद्रा घटिरहेको बेला आफूले जिम्मेवारी सम्हालेको भन्दै उनले भने परिवर्तन नचाहनेहरुले नेपाल त श्रीलङ्का भइसक्यो । डुबी सक्यो भन्ने एउटा भाष्य नै त्यो बेला बनाए । अहिले अर्थतन्त्रको समस्याम पूर्णरुपले समाधान भयो त म भन्दैन । तर, अब श्रीलङ्का बन्ने खतरा छैन ।

यद्यपि, अहिले पनि नेपाली अर्थतन्त्र दबाबमा रहेको प्रधानमन्त्रीको भनाइ थियो । सटरहरु अहिले पनि बन्द रहेका उल्लेख गर्दै उनले आर्थिक क्रियाकलापलाई बढाउन जरुरी रहेको औंल्याए ।

मुलुकमा अहिले ३० प्रतिशतलेभन्दा बढी रेमिट्यान्स भित्रिएको, विदेशी पर्यटकहरु नेपालको इतिहासमै यो वर्ष सबैभन्दा बढी आएको प्रधानमन्त्रीले बताए । गत महिनादेखि राजस्व उल्लेख्य रुपमा बढिरहेको उनको भनाइ थियो । यसैगरी, विदेशी मुद्राको सञ्चिती १६/१७ महिनालाई पुग्ने गरी भएको प्रधानमन्त्रीले बताए ।

अब नेपाल श्रीलङ्का हुने भयो भन्ने आतङ्क त छैन । तर, व्यवसाय जसरी गतिशिल हुनु पर्ने, आर्थिक क्रियाकलापहरु जसरी गतिमा जानू पर्ने हो, पुँजीगत खर्च जसरी बढ्नु पर्ने हो, त्यसरी भएको छैन, उनले भने ।

प्रधानमन्त्रीले नेपालको राजनीति पनि मोटामोटी अब लयमा आएकोे जनाए । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको विरुद्धमा हुने अराजक तथा अतिवादी क्रियाकलापको विरुद्धमा सत्ता पक्ष र प्रतिपक्ष एक भएको पनि उल्लेख गरे । त्यस खालको बितण्डा र गतिविधिलाई परास्त गर्ने गरेर तयारी भएको छ उनले भने ।


पार्टीको शक्ति बृद्धि गर्न अर्को अभियान
धनगढी उपमहानगरपालिका–१६ स्थित घसिटा गाउँमा माओवादी केन्द्रको विशेष रुपान्तरण अभियानलाई सम्बोधन गर्दे प्रचण्डले माओवादी पार्टीको चार महिने विशेष रुपान्तरण अभियानले जनतामा नयाँ, आशा भरोसा जगाउन सफल भएको बताए ।

अभियानले जनयुद्धका घाइते, शहीद परिवार, बेपत्ताका परिवारसंग माओवादीलाई जोड्नुका साथै जनतामा पनि नयाँ उत्साह थपेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उनले अभियान सकिएपछि अन्तिम सम्मेलन गर्ने र देशभरिको प्रतिवेदन लिएर फेरि अर्को अभियान अगाडि बढाउने उल्लेख गरे । त्यो अभियानले पार्टीको शक्तिलाई अझ वृद्धि गर्नमा सफलता प्राप्त गर्नेछ”, प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार