४ जेष्ठ २०८१, शुक्रबार

एमालेको मध्यपहाडी लोकमार्ग पदयात्राको तयारी शुरु



धनगढी/ नेकपा (एमाले) ले मङ्सिर १४ गतेबाट शुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राको तयारी हुन थालेको छ ।
बैतडी जिल्लाको झुलाघाटबाट शुरु हुने पद यात्राको लागि एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले तयारी थालेको हो ।

यसक्रममा विहीबार प्रदेश पदाधीकारी बैठक बसेर आवश्यक तयारी गर्ने निर्णय भएको एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले बताए ।

उनका अनुसार पार्टी केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा सहितको उपस्थितिमा भएको बैठकले बैतडीको गोठलापानीमा आयोजना गरिने जनसभा तथा डडेल्धुरा डोटी र अछामको राजमार्गमा पर्ने स्थानमा सरोकारवालाहरूको उपस्थिति गराउने निर्णय भएको छ ।

बैतडीको झुलाघाटदेखि चिवाभन्ज्याङ (पाँचथर) सम्म एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पूरै पदाधिकारी, सचिवालय, परिभाषित जिम्मेवारी तोकिएका कमिटी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीसहित डेढ सय बढीले २१ दिनको पदयात्रा गर्ने उनले बताए ।

पद यात्रामा रहने टोलीले जनतासँग साक्षात्कार गर्ने, समस्या तथा गुनासो सुन्ने र समाधानको लागि पहल गर्ने बताइएको छ । सो टोलीले एक हजार ८७९ किलोमिटर पदयात्रामा गर्ने जनाइएको छ ।

यस्तै गरेर पदाधिकारी बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडितहरूको लागि पार्टीको केन्द्रीय कोष मार्फत नगद राहत पठाउने निर्णय गरेको छ । यस्तै गरेर जिन्सी सामान भने प्रभावित जिल्लाको एमाले कमिटी र स्थानीय प्रशासनसँग समन्वय गरेर पठाउने लगायतको निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार