१५ बैशाख २०८१, शनिबार

धनगढीको सारथी अस्पताल सहितका आठ पसलका गोदाममा आगलागी



धनगढी/ विद्युत सर्ट हुँदा भएको आगलागीबाट धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलका गोदाममा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति करीब १ बजेतिर आगलागी भएको थियो । आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टर लगायतका पसलमा क्षति पुगेको छ। दलबहादुर भण्डारीको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देबेन्द्र पालले बताए।

सो आगो नियन्त्रण गर्न धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकल प्रयोग गरिएको थियो । समयमै आगो नियन्त्रण हुँदा सारथी अस्पताल र खाद्यको भवनमा रहेका पसलमा थप क्षति भएन । सारथी अस्पताल नजिकै प्रदेश सभा भवन, सेती प्रादेशिक अस्पताल पनि छन् ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोली समेत परिचालन गरिएको थियो।

आगलागीबाट भएको क्षतिको विवरण भने ऐकिन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार