२२ बैशाख २०८१, शनिबार

महाकालीमा सत्तरी हजार रुपियाँको झोला खस्यो




बैतडी/ महाकाली नदीमा ७० हजार रूपियाँको झोला खसेको छ । किनमेलका लागि विहीबार झुलाघाट बजार जाने क्रममा एक महिलाले बोकेको झोला मौराभीरबाट महाकालीमा खसेको हो ।

दशरथचन्द नगरपालिका २, देहिमाडौं रजुन्डाकी भागरथी बोहराले बोकेको झोला गाडीबाट ओर्लिने क्रममा सडक किनारबाट महाकालीमा खसेको हो ।

भागरथी बोहरा विहीबार किराना पसको सामान किन्न झुलाघाट गएकी थिइन । भागरथीका श्रीमान रोजगारीका लागि भारतमा छन् । केही दिन अघि मात्रै उनका श्रीमानले ४५ हजार रुपियाँ पठाएको को भागरथीले बताइन ।

गाउँमा किराना पसल सञ्चालन गरेर गुजारा गर्दै आउनु भएकी भागरथीले पैसाको झोला महाकालीमा खसेपछि आसुँ खसाल्दै रित्तो हात घर फर्किनु परेको बताइन ।

गाडीबाट ओर्लिने क्रममा साँघुरो सडक किनारबाट भागरथीको झोला भीरबाट महाकालीमा खसेको सशस्त्र प्रहरी बल नेपालको झुलाघाट सीमा पोष्टका ईन्चार्ज राजेन्द्र नाथ योगीले बताए ।

झोला भीरमा अड्केको हुन सक्ने अनुमान गर्दै सशस्त्र प्रहरी बलको उद्धार टोलीले कम्मरमा रसी बाँधेर दुईसय मिटर तल भिर हुँदै महाकाली नदी किनारसम्म खोज पड्ताल गरिए पनि झोला नभेटिएको उनले बताए । झोलामा नगदसहित बिक्रीका लागि हरियो काँक्रासमेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार