१७ बैशाख २०८१, सोमबार

धनगढीका दुई अस्पताल बन्द हुँदै



धनगढी/ धनगढीका दुई नीजि अस्पताल स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनी आजदेखि बन्द हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला प्रहरी प्रहरीलाई दिएको निर्देशन अनुसार ती अस्पताल बन्द हुने भएका हुन । ती अस्पतालको मंगलबार अनुगमन गरेपछि प्रशासनले पत्र लेखेर स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनी अस्पताल बन्द गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीलाई निर्देशनसहितको पत्र पठाएको हो ।

जिल्ला अनुगमन समितिले गरेको अनुगमनका आधारमा ती अस्पताललाई बन्द गर्न निर्देशन दिइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले ती अस्पताल कम्पनी रजिष्ट्रार कार्यालय र मूल्य अभिवृद्धि करमा दर्ता गरिएका भए पनि अस्पताल सञ्चालनका अनुमति दिने निकायबाट स्वीकृति नलिएकोले बन्द गर्न निर्देशन दिइएको बताए ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आज प्रहरीले अस्पताल बन्द गराउने बताए । यद्यपी ती अस्पतालले समेत प्रशासनको निर्देशनपछि आफै सेवा बन्द गर्ने बताएका छन् ।

स्वास्थ्य कानुन अनुसार अस्पताल सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, दुई सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति सङ्घीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति लिनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार