२४ बैशाख २०८१, सोमबार

धनगढीको स्वस्तिकमा बिरामीको मृत्यु, आफन्तले गरे शहीदगेटमा चक्काजाम



धनगढी /धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्त प्रर्दशनमा उत्रिएका छन् । पत्थरीको शल्यक्रियापछि उच्च रक्तश्राव भएर डाक्टरले मिर्गौला निकालेपछि कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर आन्दोलित भएका आफन्तले सडक बन्द गराएका छन् ।

उनीहरुले धनगढीको शहीद गेटमा सडकमा अवरोध सिर्जना गर्दै सवारीसाधन चल्न दिएका छैनन् । चौधरीको उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारवाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै उनीहरु प्रर्दशनमा उत्रिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोश बस्यालले पीडित पक्षले उठाएका मागका सम्बन्धमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको जानकारी प्राप्त भएको बताए । स्वास्थ्यमा समस्या देखिएपछि शुुक्रबार स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल भर्ना भएका चौधरीको डाक्टर जोनेश तिवारीको टिमले बाँया मिर्गौलामा पत्थरी रहेको भन्दै शल्यक्रिया गरेका थिए ।

शल्यक्रियाबाट बाँया मिर्गौलाको ११ एमएम र ९ एमएमको स्टोन निकालिएको थियो । उच्च रक्तश्राव नरोकिएपछि मृतकको सहमती लिएर डाक्टरले बाँया मिर्गौला बाहिर निकालेका थिए । मिर्गौला निकालेपछि भेन्टिलेटरमा राखिएका चौधरीलाई अस्पतालले सोमबार बिहान मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार