२४ बैशाख २०८१, सोमबार

अछामको अस्पतालबाट फर्केकी सुनार बाजुराको बाटोमै सुत्केरी



धनगढी/ बाजुरामा एक गर्भवती बाटोमै सुत्केरी भएकी छन्। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ जारिमतोलाकी ३२ वर्षीया उज्जली सुनार बाटोमै सुत्केरी भएकी हुन्।

बाजुराको बुढीगंगा नगरपालिका१० वडाध्यक्ष डेभिड क्षेत्रीका अनुसार प्रसूति व्यथा लागेपछि अस्पताल पुर्‍याइएकी सुनारले अस्पतालबाट फर्किने क्रममा बाटोमै शिशुलाई जन्म दिएकी हुन्। वडाध्यक्ष, स्थानीय र स्वास्थ्य इन्चार्जको रोहबरमा बाटोमै उनले बाटोमै शिशुलाई जन्म दिएको बताइएको छ।

स्थानीयका अनुसार उनी व्यथा लागेपछि अछामको बयलपाटा अस्पताल पुगेकी थिइन्। अस्पतालमा चिकित्सकले उनको स्वास्थ्य जाँच गर्ने क्रममा बच्चा पाउने अवधि दुई साता नाघिसकेको भन्दै तत्काल शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने सुझाव दिएका थिए।

तर, डाक्टरको सल्लाहपछि अप्रेसनको डरले उनी घर फर्किने क्रममा बुढीगंगा नगरपालिका वडानम्बर १ स्थित पानीभुवाको सडकमा व्यथा लागेर ढलेकी थिइन्। उनलाई सडकमा ढलेको अवस्थामा सोही वडाकी अनमी सिर्जना सार्कीले सघाएर शिशुलाई जन्म दिएकी हुन्। अहिले उनी घरतर्फ गएको र बच्चासहित आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार