२४ बैशाख २०८१, सोमबार

एसपीए रिडर्स च्यालेन्ज घोषणा, धेरै पढ्नेले नगद पुरस्कार पाउने



धनगढी/ पठन संस्कृतिको विकास गर्ने उद्देश्यसहित धनगढीको एसपीए कलेजले एसपीए रिडर्स च्यालेन्ज घोषणा गरेको छ ।

च्यालेन्जमा सर्वाधिक किताव पढ्ने पाठकहरुले नगद पुरस्कार पनि पाउने भएका छन् । पाठकले आफूसँग भएका वा किनिएका जुनसुँकै पुस्तक पनि पढ्न पाउनेछन् । अथावा एसपीए कलेजको लाइब्रेरीबाट किताब लिएर पनि पढ्न पाइनेछ ।

तोकिएको अवधिमा आफूले पढ्ने वा पढिरहेका पुस्तकहरुको सुची क्याम्पसमा बुझाउनुपर्नेछ र अवधि समाप्त भएपछि पढेका पुस्तकहरु बारे छोटो समिक्षा लेख्नुपर्ने क्याम्पस प्रमुख योगराज गौतमले बताए ।

‘राजालाई देशमा पुजिन्छ भने विद्धानलाई संसारमा पुजिन्छ भन्ने पुर्खाहरुको भनाई छ,’ गौतमले भने, ‘विद्धान, सभ्य, समझदार नागरिक उत्पादन गर्न पठन संस्कृतिको विकास हुन आवश्यक छ । सोही कुरा मध्यनजर हामीले यो च्यालेन्ज घोषणा गरेका हौं ।’

गौतमका अनुसार विद्यार्थी, अभिभावक, पेशाकर्मी जो सुकैले पनि यो अभियानमा सहभागिता जनाउन सक्नेछन् ।

यो अभियान यही भदौं ८ गतेदेखि मंसिर ८ गतेसम्म चल्नेछ । पाठकहरुले सो अवधीमा आफूले पढेका पुस्तकहरुको सुचि र ती पुस्तकको बढीमा ३०० शब्द नबढाई समिक्षा लेख्नुपर्नेछ । त्यसका आधारमा विजेता घोषणा गरिने गौतमले बताए ।

च्यालेन्जको विजेताले पाँच हजार रुपियाँ नगदसहित प्रमाणपत्र, उपविजेताले तीन हजार रुपियाँ नगदसहित प्रमाणपत्र र तेस्रो हुनेले दुई हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

स्थापनाको २६ वर्ष मनाइरहेको धनगढीको एसपीए कलेजमा तीन हजार पाँच सय बढी विद्यार्थीहरु अध्ययनरत् छन् । तीनवटा भवनहरुबाट सञ्चालित कलेज सुदूरमा त्रिविबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै ठूलो मध्येको एक हो । यसवर्ष समेत गरेर कलेजले लगातार तेस्रोपटक देशभरिकै उत्कृष्ट कलेज भित्र पर्दै राष्ट्रिय शिक्षा सम्मान पाएको थियो ।

कलेजमा सेन्ट्रल डिजिटल ब्रोडकास्टिङ सिस्टम जडित छ । जसको माध्यमले एकैपल्ट कलेजभरि नै सुचना सम्प्रेषण गर्न सकिन्छ । सी ब्लक पूर्णतया एसीयुक्त छ ।

डिजिटल ब्रोडकास्टिङ सिस्टमसँगै प्रविधिमैत्री सिकाई र अध्ययनका लागि एसपीएले निःशुल्क डेडिकेटेड वाइफाई जोनकोे निर्माण गरेको छ ।

यसरी कर्पोरेट नेट जडान गर्ने सुदूरमा एसपीए पहिलो कलेज हो । मल्टिमिडियायुक्त कक्षा कोठा, आफ्नै छुट्टै वेबसाइट र एप छ । जहाँबाट विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकालवाला निकायले चाहेका सूचना क्लिकका भरमा पाउन सक्छन् ।

प्रोजेक्टर र साउण्ड सिस्टमसहित कक्षा कोठासँगै आधुनिक ल्याब, लाइब्रेरी, सेमिनार हल छ । एचएम र बीएचएमका लागि सुदूरपश्चिममै एकमात्रै छुट्टै किचेन ल्याब छ । आफ्नै बेकरी क्याफे , रेष्टुरेन्ट छ । विद्यार्थीहरु अध्ययनसँगसँगै त्यही रोजगारी गरिरहेका छन् । टाढाबाट आउने विद्यार्थीका लागि होस्टल तथा यातायातको सुविधा छ ।

सरकारले तोकेका छात्रवृत्तिबाहेक एसपीएमा विभिन्न १४ वटा विशेष छात्रवृत्तिहरु उपलब्ध छन् । यस वर्षमात्रै सुदूरपश्चिम र कर्णालीका प्रदेशका हरेक जिल्लाका दुई दुई जना विद्यार्थी गरेर ३८ जना विद्यार्थीलाई निशुल्क पढाउने घोषणा गरेको छ ।

यो स्नातक तहमा पनि लागू छ । त्यसबाहेक अन्तर्राष्ट्रिय खेलाडीहरु शतप्रतिशत छात्रवृत्तिमा अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार