१८ बैशाख २०८१, मंगलवार

बाजुराको बुढीगंगा नगरद्धारा पूर्व शिक्षक सिंह सम्मानित



धनगढी/ बाजुराका शिक्षाप्रेमी तथा राजनीतिज्ञ नरसिंह गिरीको नाममा स्थापित गरिएको शिक्षा सम्मानबाट खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ काडाँका ८४ वर्षीय पूर्व शिक्षक कृष्णबहादुर सिंहलाई सम्मानित गरिएको छ ।

आठौं नगर सभाबाट पारित विभिन्न क्षेत्रमा योगदान गर्ने सामाजिक अभियान्तालाई सम्मानित गर्ने नीति तथा कार्यक्रम पारित भए अनुसार नगर प्रमुख रामबहादुर बाँनियाले हाल धनगढीमा रहेका सिंहलाई सम्मान गरे ।

नगर प्रमुख बाँनियाले हाल धनगढीमा बसोबास गर्ने सिंहको घरमै गएर सम्मान गरेका हुन । सो कार्यक्रममा बुढीगंगा नगरपालिकाका उपप्रमुख माया कुँवरको पनि उपस्थिति थियो ।

उहाँले बाजुरा जिल्लाका गरिब जनताका छोराछोरीमा शिक्षाको ज्योती फैलाउन शिक्षा क्षेत्रमा अतुलनीय योगदान गर्नु भएको छ त्यसैले हामीले सम्मान गरेका छौ नगरप्रमुख बाँनियाले भने ।

सिंहले १८ वर्ष भानोदय मावि र १४ वर्ष काँडा माविमा शिक्षण गरेका थिए । सिंहलाई कदर पत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्रधानाध्यपकको समेत जिम्मेवारी सम्हालेका सिंहलाई दश हजार पाँच रूपैयाँ समेत प्रदान गरिएको छ ।

सिंहले आफूलाई सम्मान गर्न योग्य सम्झेकोमा नगरपालिकालाई धन्यवाद दिएका थिए ।

२०२४ सालमा भानोदय मावि निर्माणका लागि स्नातक गरेको व्यक्ति खोजी भइरहदा भारतमा वाणिज्यशास्त्रमा स्नातक गरेका सिंह शिक्षण गर्न बाजुरा गएका थिए ।

उनलाई नै प्रधानाध्यापक बनाएर भानुदय मावि निर्माण गरिएको थियो । पहिलो चार/पाँच वर्षसम्म केही पनि सेवा सुविधा नलिएका सिंहले पछि भानोदयमा १८ वर्ष सेवा गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार