सरकारले अपाङ्गता भएकाको आवाज सुनेन् ,अव आमरण अनसन बस्ने
धनगढी/ समाजमा केही गर्न नसक्ने भनेर उपमा दिएर हेला गरिने अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले पनि हेपेपछि अहिले सुदूरपश्चिम प्रदेश मुकाम धनगढीमा उनीहरु आन्दोलनरत छन् ।
अत्याधिक गर्मी र छिन–छिनमा वर्षा भइरहेको धनगढीमा एक हप्ताअघि नै पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेर उनीहरु सडकमा रहँदा पनि सुदूरपश्चिम प्रदेश सरकारले भने कुनै चाँसो देखाएको छैन् ।
प्रदेश सरकारले आगामी वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अपाङ्गता भएका नागरीकलाई होच्याउने र अपमानित खालका शब्द प्रयोग गरेको र बजेटमा समावेशीरुपमा अपाङ्गता भएकालाई नसमेटेको भन्दै उनीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए ।
कहीँ कतैबाट केही सम्बोधन गर्ने छाटकाँट नदेखेपछि सडक आन्दोलन गर्न बाध्य भएको अपाङ्गता अधिकार प्रर्वद्धन संघर्ष समितिका संयोजक भीमवहादुर शाहले जानकारी दिए । उनले माग सम्बोधन गरीदिन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा जाँदा गेटमा रोकेपछि धनगढी बजारमा ¥याली गरेर मंगलवारदेखि सडकमा रिले अनसन बसेको बताए ।
शुक्रबार अर्थात असार १५ गतेपछि शसक्तरुपमा आमरण अनसनमा बस्ने उनको भनाई छ ।
सडक प्रदर्शनपछि अनसनमा बसेको तेस्रो दिनसम्म सरकारले केही चाँसो नदेखाएको भन्दै राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मानवहादुर साउदले सुनवाई नहँुदासम्म आन्दोलन जारी रहने बताए ।
संविधानप्रदत हकअधिकार कार्यान्वयन गराउन अपाङ्गता भएका व्यक्तिहरुले सडक आन्दोलन गर्ने अवस्था आउनु बिडम्बना भएको भन्दै उनले मुख्यमन्त्रीसहित प्रदेश सरकारका सबै मन्त्रीलाई अपाङ्गता भएकाहरुको शिक्षा, स्वास्थ्य र रोजगारसँग जोडिएका माग राखेको तर, बजेटमा काही कतै नसमेटिएको बताए ।
आफूहरुले उठाएका मागबारे जानकारी गराउदै राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका सचिव एवं संघर्ष समिति सदस्य नन्दराज भट्टले अपाङ्गताका क्षेत्रमा कार्यरत सबै संघसंस्थाको संस्थागत विकास र सवलिकरणकालागि केही बजेट माग गरेको बताए ।
यस्तै, आवश्यक सहायक सामाग्री, सरकारी अस्पतालमा सांकेतिक दोभाषेको व्यवस्था लगायतका माग रहेको उनको भनाई थियो ।
प्रदेशसभा र आन्तरिक मामला तथा कानुन मन्त्रालय बीच पार्कमोडमा अनसन बसेका अपाङ्गगता भएका व्यक्तिहरुको आन्दोलनमा समाजमा रहेका विभिन्न क्षेत्रका व्यक्तित्वहरु ऐक्यबद्धता जनाउन आइरहेका भए पनि सरकार सम्बद्ध राजनीतिक दलका नेता तथा प्रदेश संसदहरु नआएको असनरतहरुले बताए ।
यसैवीच एमालेका प्रदेश सचिव तथा सभा सदस्य धर्मराज पाठकले उनीहरुका मागमा ऐक्यवद्धता जनाएका छन् ।