१९ बैशाख २०८१, बुधबार

चार वर्षअघि तीनतारे होटल बेचेका महरालाई किन्नेले पैसा तिरेन



धनगढी/ धनगढीमा अत्याधुनिक होटल सञ्चालन गरेर सेवा दिएका होटल तथा पर्यटन व्यवसायी कृष्णबहादुर महरालाई काठमाडौको व्यवसायी घरानाका पूर्वशिक्षा राज्यमन्त्री एवं व्यवसायी सिनेट श्रेष्ठले लेनदेनमा धोका दिएका छन् ।

महराले चेककै भरमा डिभोटी होटल श्रेष्ठको नाममा पास गरि दिएकोमा अहिलेसम्म पैसा नदिएको भेटिएको हो । प्राप्त बैंकका चेक अनुसार महरालाई उनले तीन करोड २६ लाख रुपियाँ दिन वाँकी रहेको छ ।

महराले श्रेष्ठलाई चार वर्षअघि २० करोड रुपियाँ नगद र २० प्रतिशत आफ्नो सेयर रहने गरेर तीनतारे होटल डिभोटी बिक्री गरेका थिए ।

‘मेरो केही ऋण तिर्नुपर्ने भएकाले सिनेट श्रेष्ठलाई विश्वास गरेर चेक लिएर होटल नामसारी (पास) गरिदिएको थिएँँ, महराले फेसबुकमा लेखेका छन् बैंकको रिण थेग्न नसकिने भएपछि २०७६ सालमा आफूले भावनामा बगेर सञ्चालन गरेको होटेल डिभोटी घर जग्गा सबै मायाजाल र विश्वासमा परि चेककै भरमा नामसारी गरिदिए तर अहिलेसम्म न यो तस्बिरमा देखिने अन्तर्राष्ट्रिय ठग सिनेट श्रेष्ठ (स्व.दिलबहादुर श्रेष्ठको छोरो महेन्द्रा गाडीको नेपालकै डिस्ट्रीब्युटर क्याबिनेट श्रेष्ठको दाजुसङ्ग ) हिसाब नै क्लियर भयो न यी ठगहरुका चेक नै साटिए न बैंकको रिण नै चुक्ता भयो भने आफू बैंकको ऋण समयमा तिर्न नसकेकोमा दुर्घटनामा पर्दैछु ।

श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी
यसैवीच पूर्वशिक्षा राज्यमन्त्री एवं व्यवसायी सिनेट श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उच्च अदालत दिपायलले जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीलाई पत्र पठाउँदै श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

श्रेष्ठले चार वर्षअघि धनगढीस्थित तीनतारे होटल ‘डिभोटी’ खरिद गर्दा तीन करोड २६ लाख रुपियाँको चेक अनादर (बाउन्स) गरेको भन्दै होटल विक्रेता कृष्णबहादुर महराले जिल्ला प्रहरी कार्यालय कैलालीमा २०७९ चैत ५ मा निवेदन दिएका थिए ।

त्यही दिन उच्च अदालत दिपायल महेन्द्रनगर इजलासबाट कार्यालयको चलानी नम्बर ७७४६ मा श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिब देखिएकाले संहिताको दफा ९ (३) बमोजिम पक्राउ गर्न अनुमति दिइएको थियो ।

कैलाली प्रहरीले पनि सोही दिन जिल्ला प्रहरी परिसर अपराध अनुन्धान शाखा काठमाडौंलाई पत्र पठाएर पक्राउ गरी दाखिला गरिदिन अनुरोध गरेको थियो । श्रेष्ठविरुद्ध बैंकिङ कसुर मुद्दा अनुसन्धान अगाडि बढाइएको छ । यद्यपि, हालसम्म श्रेष्ठलाई प्रहरीले पक्राउ भने गरेको छैन ।

पक्राउ पुर्जी जारी गर्दासमेत गृहप्रशासनले बेवास्ता गरेको र पक्राउ गर्न प्रहरी निरीह देखिएको भन्दै डिभोटी होटलका पूर्व सञ्चालक महराले आक्रोश पोखेका छन् । श्रेष्ठ तत्कालिन राजा ज्ञानेन्द्र शाहले सत्ता सञ्चालन गर्दा शिक्षा राज्यमन्त्री बनेका थिए ।
विश्वासका आधारमा दुई/तीन महिनाको भाखा राखेर चेक लिए पनि हालसम्म बाँकी रकम पाइएन महराले भनेका छन् ठूलो पैसामा कुनै बदमासी नहोला भनेर काम गरिदिएको हुँ ।

ठूलो व्यावसायिक घराना भएकाले पनि यो किसिमको बदमासी नहोला भन्ने सोचेको थिए महराले भने । श्रेष्ठ र महराबीच तिर्नुपर्ने रकम बारे धेरैपटक तमसुक पनि गरिएको छ । तर श्रेष्ठ सम्पर्कविहीन भएको महराको भनाइ छ ।

श्रेष्ठको मोवाइल सँधै अफ रहने गरेकोले उनको प्रतिक्रिया भने राख्न सकिएन । श्रेष्ठले ‘आफूले कुनै रकम दिन बाँकी नरहेको र उल्टै लिनुपर्ने’ महराको फेसबूकमा कमेन्ट गरेको देखिन्छ ।

तिनै श्रेष्ठले अहिले धनगढीका भारतीय मुलका व्यवसायीलाई होटल बेचेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार