१५ बैशाख २०८१, शनिबार

सुदूरपश्चिममा कुषोषणको अवस्था गम्भीर रहेकोमा चिन्ता




धनगढी/ सुदूरपश्चिम प्रदेशमा महिला तथा किशोरीको पोषणको अवस्था गम्भीर रहेको यहाँ औल्याइएको छ ।

शनिबार धनगढीमा आयोजित महिला विरुद्ध हुने सबै प्रकारको विभेद अन्त्य गर्ने सम्वन्धी महासन्धी ( सिड) समितिमा महिला तथा किशोरीको खाद्य र पोषणको सवाल केन्द्रीत सातौ आवधिक छाया प्रतिवेदन तयार सम्वन्धमा प्रदेश स्तरीय कार्यशालामा बोल्दै प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य सन्तोष थापाले लक्षित पक्षका हीतका लागि सरकारबाट काम गराउन घच्घच्याउने बताइन ।

उनले महिला र किशोरीका सवालमा काम गर्न बजेट बढाउन समेत आफूहरुले प्रयास गरेको चर्चा गर्दे बजेट बनाउदा लैङिगक दृष्टीकोणले पनि हेर्न पनि जरुरी भएको बताइन ।

अर्का प्रदेश सभा सदस्य टीका थापाले बाजुराको मुक्तीकोटमा मात्र होइन कैलाली जस्ता सुगम ठाउँमा समेत महिला र किशोरीले पोषण नपाएको बताइन ।

उनले पछाडि परेको वर्ग समुदायमा मात्र होइन हुने खाने परिवारमा पनि पोषण बारे जानकारी नरहेको बताउदै पोषण बारे चेतनामुलक शिक्षा दिन जरुरी भएको बताइन।

सो अवसरमा सामाजिक विकास मन्त्रालयका जयन्ती गिरीले विभेद अन्त्य गर्ने सम्वन्धी महासन्धीको अवस्था चर्चा गरिन।

फियान नेपालका कार्यकारी निर्देशक अशोक सिंहले अहिलेको अवस्था के छ अब प्रदेश सरकारले के गर्न आवश्यक छ भन्ने हिसावले कार्यशाला आयोजना गरेको बताए ।

उनका अनुसार सुदूरपश्चिममा एचआइभी भएकाबाट जन्मेका बालबालिका, पिछडिएको क्षेत्र, गरिब, दलित, मुक्त कमैया, हलिया, भूूमिहीन र अभिभावक गुमाएका बालबालिका खाद्य तथा पोषणबाट बढी जोखिममा रहेको बताए ।

कार्यक्रममा नेपाल सरकारले पोषण सम्वन्धी विभिन्न कार्यक्रमहरु ल्याएको भए पनि गाउँबस्तीमा प्रभावकारी ढंगले लागू नभएको पनि बताइएको थियो ।

कार्यक्रम फियानका केन्द्रीय सचिव मदन जैसीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार